प्युठान।बाटोको छेउमा झुप्रो घर।घर भित्र डाँडाभाटा र बलाको भर।टिनको छाप्रो।त्यही छाप्रोमा छ सानो आरन।आरनको छेउमा बसेर ट्याकट्याक, टुकटुक पार्न थालेको ८ वर्ष दिन बितिसके।आरन पेशामै धेरै दिनहरु बिताएका स्वर्गद्वारी नगरपालिका – ६ का पल सिङ सुनारको दैनिकी ।
"मलेसियाको जागिर छोडेर आरन व्यवसायमा जोडिएको ८ बर्ष पुरा भएको छ।"उनले भने-"बिहान भालेको डाको संगै आरनमा बसेर फलाम पिट्न सुरु गर्छु झमक्क साँझ हुँदा सम्म यही छाप्रो मुनि हुन्छु।"
बैदेशिक रोजगारको लागि मलेसिया पुगेको बताउदै करिव ३ वर्षको बसाई बिट मार्दै नेपाल आएर व्यवसाय सुरु गरेको उनको भनाई छ।"मलेसिया रहँदासम्म जेल जीवन बिताए जस्तो लाग्थ्यो।"पल सिङले भने –"कामलाई सानो ठुलो नभनि ऐतिहासिक पेशालाई ब्यबसायिक रुपमा आफ्नै ठाउँमा सिपको सदुपयोग गर्न सके राम्रै आम्दानी हुने र बेरोजगारिको कारण युवाहरु विदेश जानुपर्ने अवस्था आउँदो रहेनछ।"
सुनारका दौतरीहरुले यो काम गर्न भन्दा अरु पेशा गरेको भए कमाई राम्रो हुन्थ्यो भन्ने सल्लाह दिन्छन तर उनि भन्छन् –"यही काम सिकें, यसबाटै जीवन धानिरहेको छु, अब जीवन यसमै बित्छ होला।आफुले जे जानेको हो त्यो गर्ने हो अरुको देखेर ,आरिस गरेर हुने वाला केही छैन।’
स्थानिय निकायले ध्यान दिए लोपहुने संघारमा पुगेको ऐतिहाँसिक पेशाको जगेर्ना हुनुको साथै रोजगारको बिस्तार हुने उनको भनाई छ।आरन व्यवसायबाट दैनिक एक हजार देखी पन्ध्र सय सम्म आम्दानी हुने हुँदा आफ्नो परिवारको गुजरा चलेको बताऊछन्।
आरन पेशा आफ्नो बाबुबाजेले गर्दै आएको हुँदा आफूहरुको पुख्र्यौली पेशा भएकाले यसलाई निरन्तरता दिएको समेत उनले बताए। टिनको छाप्रामुनि रहेको उनको आरनमा फलामबाट बन्न सक्ने सबै प्रकारका सामान बन्छन्।नयाँ सामान बनाउने र पुरानालाई मर्मत सम्भार गर्ने काम पनि उनको आरनमै हुन्छ।