समय : ०६:०१ am | शनिबार , श्रावण १२ गते २०८१

माण्डवीले मनायो २०औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

स्वर्गद्वारी अपडेट | मंसिर १९ गते २०८०

प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाईएको छ।"स्वास्थ्य क्षेत्रमा दिगो विकास:महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास "भन्ने मुलनाराका साथ आज गाउँपालिकाको सभाहल जस्पुरमा मनाईएको हो।

गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकी,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे ,र गाउँपालिकाको ४ वटा वडा र कार्यवाहक वडा ५ का वडा अध्यक्ष कमला खड्काको उपस्थिति रहेको थियो ।गाउँपालिकामा कार्यरत विषयगत शाखा प्रमुख सहित पाँच वटै वडाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो।कार्यक्रममा गाउँपालिका अध्यक्ष अधिकारीले सामाजिक क्षेत्रमा स्वास्थ्य स्वयंसेविकाहरुको भुमिका उच्च रहेको बताउँदै उनीहरुले पुर्याएको योग्दानको प्रसंसा गरेका थिए।अध्यक्ष अधिकारीले सामाजिक क्षेत्रको हरेक गतिविधिमा स्थानीय सरकारसँग साझेदारीका रुपमा जोडिने सवै स्वास्थ्य स्वयंसेविकाहरुलाई सामाजिक परिवर्तनमा नि:स्वार्थ खटिन पनि आग्रह गरेका थिए।

यस्तै उपाध्यक्ष कालाथोकीले स्वास्थ्य स्वयंसेविकाहरुले समाजसेवा जस्तो महत्वपूर्ण क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गरेको भन्दै खुलेर प्रसंसा गरेका थिए ।साथै गाउँपालिकाले गाउँ-गाउँ र टोल -टोलमा हुने नराम्रा गतिविधि तथा मुद्दामामिलाको मेलमिलाप कार्यक्रममा समेत उनीहरुलाई अग्रसर गराउन सम्पुर्ण स्वास्थ्य स्वयंसेविकालाई न्यायिक सम्बन्धि तालिमको आयोजना गर्न लागेको बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत पाण्डेले समाजमा जननिकट रहेर स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योग्दान गर्ने स्वास्थ्य स्वयंसेविकाहरुले समाजका हरेक क्षेत्रमा नेतृत्वदायी भुमिका रहनु पर्ने अधिकृत पाण्डेको भनाई रहेको थियो ।उता सामाजिक विकास समितिका संयोजक समेत रहनु भएका २नं.वडाका अध्यक्ष प्रकाश वलीले जनसेवामा समर्पित स्वास्थ्य स्वयंसेविकाहरुको योग्दानको उच्च कदर गर्दै गाउँपालिकाले भ्रमण र खाजा लगाएतका क्षेत्रमा हुने खर्चलाई कटौती गरेर भए पनि उनीहरुको सेवासुविधा निर्धारण गर्नु पर्नेमा जोड दिनु पर्ने बताए।

वडा ३नं.वडा अध्यक्ष धनेन्द्र कार्कीले सेवाक्षेत्रको सहजताका लागि यथासिघ्र तालिमको व्यवस्थापन गरिनु पर्ने बताएका थिए ।कार्यक्रममा सम्पुर्ण स्वास्थ्य संस्थाको प्रतिनिधित्व गर्दै देविस्थान स्वास्थ्य चौकीका प्रमुख गिर बहादुर नेपाली र स्वास्थ्य स्वयंसेविकाको तर्फबाट खिमा थापाले आ-आफ्ना धारणा राखेका थिए।कार्यक्रमकै अवसरमा कार्यसम्पादन उत्कृष्ट रहेको भन्दै गाउँपालिकाले ५जना स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान समेत गरेको छ।गाउँपालिकाले पाँच वटै वडाबाट क्रमश विपना हौजाली,कलावती वली,रमा खत्री ,पुष्पा विष्ट र खिमा थापालाई टीका ,दोसल्ला ,प्रसंशा-पत्र र नगद सहित सम्मान गरेको हो।हाल गाउँपालिकाको ५ वटै वडामा गरि ४१जना सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु कार्यरत रहेका छन्।यस दिवसलाई वडामै मनाउँदै आईएकोमा यसपटक भने गाउँपालिकाले संयुक्त रुपमा गाउँपालिकामै आयोजना गरि मनाएको हो।कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोख्रेलले गरेका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page