प्युठान। गौमुखी गाउँपालिका केन्द्र मानिने लिवासेमा सुबिधा सम्पन्न अस्पताल तिब्र गतिमा निर्माण हुँदैछ ।
०७७ सालमा सरकारले देशभरीका ३ सय ९६ पालिकामा १५ शय्याका आधारभूत अस्पताल बनाउने योजना अघि सारेको थियो।सोही अनुरुप लिवासेमा स्थानीय सरकारले अस्पताल निर्माण गरिरहेको छ ।
कूल १५ शय्याको आधुनिक प्रविधिसहितको सुविधा सम्पन्न भवन यतिबेला धमाधम निर्माण भईरहेको छ । स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १५ शय्याको भवन १५ महिना अगाडी प्रक्रियामा गए पनि निर्माणको काम भने आर्थिक वर्ष ०७८ /७९ देखी सुरु गरेको पालिका स्वास्थ्य प्रमुख हरि प्रसाद जैसीले बताए।अस्पताल निर्माणमा कुल रकम १९ करोड ५ लाख बजेट बिनियोजन भएको छ ।
कोभिड महामारीबाट सिकेको अनुभवको आधारमा भावी दिनमा यस्ता महामारीको सहज व्यवस्थापनका लागि सक्षम र प्रभावकारी स्वास्थ्य प्रणालीको विकास गर्ने गौमुखी गाउँपालिकाको उपाध्यक्ष महावीर रानाले बताए।
प्युठान जिल्लाको सबै भन्दा दुर्गम मानिने यस पालिकामा कुल ६ वटा स्वास्थ्य चौकी,एउटा आधारभूत स्वास्थ्य चौकी र ८ सामुदायिक स्वास्थ्य ईकाई बाट सेवा प्रवाह भएको र एम.बी.बी. एस डाक्टरले पालिकामा बिरामीहरुको सेवा दिदै आईरहेको उपाध्यक्ष रानाले भनाई छ ।
पालिकाको कुल जनसंख्या २६ हजार र ७ वडा रहेको छ ।मदाने गाउँपालिकाको १ वडा सहित जनतालाई प्रत्यक्ष स्वास्थ्य सेवा दिने उदेश्यले अस्पताल निर्माण गर्न थालिएको हो।निर्माण सम्पन भए यस भेगका बिरामीहरुलाई प्युठान जिल्ला अस्पताल धाउन पर्ने छैन।