काठमाडौँ- फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ आज बिहीबारबाट प्रर्दशनको चौथो सातामा प्रवेश गरेको छ । प्रदर्शनको सुरुदेखि नै आक्रमक कमाई गरिरहेको फिल्मले स्वदेशी बक्सअफिसमा मंगलबारसम्म ३७ करोडको व्यवसाय गरेको वितरक करण श्रेष्ठले बताए ।
फिल्म अहिले पनि करिब ३०० शोसहित प्रदर्शनरत छ । फिल्मको बुधबारको कमाई आउन बाँकी छ । बुधबार फिल्मले करिब एक करोड बढी व्यवसाय गरेको अनुमान गरिएको छ ।
विजय बराल, अञ्जना बराइली, मुकुन भुसाल, प्रकाश सपुत, माओत्से गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपानेको अभिनय रहेको यो फिल्मले बाबुले छोराको भविष्यका लागि गर्ने संघर्ष र त्यागको कथा उठाएको छ ।
फिल्म सेभेन सिज इन्टरटेनमेन्टले १ करोड ३० लाख लगानीमा निर्माण गरेको हो । फिल्मको विदेशमा समेत राम्रो व्यवसाय गरिरहेको छ ।