समय : ०८:३६ am | शनिबार , श्रावण १२ गते २०८१

हिमाली तथा पहाडी जिल्लामा आज होली पर्व मनाइँदै

स्वर्गद्वारी अपडेट | चैत्र ११ गते २०८०

प्युठान। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय प्युठानले बिज्ञप्ति  नै प्रकाशन गरेको छ। अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन नपाइने बिज्ञप्तिमा उल्लेख गरेको छ। यदि कसैले नियमविपरीत गरेमा तत्काल कारबाही गरिने कार्यालयले जनाएको छ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली  खेल्ने परम्परा चलेको मानिन्छ ।

यस दिन विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङ्गिएर बाजागाजाका साथ नाचगान गर्दै महिला तथा पुरुषका समूह आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page