प्युठान । स्थानिय सरकार सञ्चालनका विषयमा रेन्बो एकेडेमीका विद्यार्थीले स्थलगत अवलोकन गरेका छन् । स्थानीय पाठ्यक्रम अन्तर्गत प्यूठान न.पा. ४ जुम्री स्थित रेन्बो एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुले प्युठान नगरपालिकाको स्थलगत अबलोकन गरेका हुन ।
विद्यार्थीहरुलाई स्थानीय सरकारका गतिविधि, काम, कर्तव्य, अधिकार जिम्मेवारी तथा स्थानीय पाठ्यक्रमको महत्व र आवश्यकताको विषयमा अवलोकन गराइएको रेन्बोका प्रीन्सिपल दुर्गा खड्काले जानकारी दिए । पाठ्यपुस्तकको ज्ञानसंगै व्यवहारिक तथा बाह्य सिकाइका लागि कक्षा ४ देखि ७ कक्षासम्मका विद्यार्थीलाई स्थलगत अबलोकन गराइइएको ख्डकाले बताए ।
स्थानीय पाठ्यक्रममा प्रमुख, उपप्रमुख, स्थानीय सरकार र अन्य जनप्रतिनिधिका बारे उल्लेख गरे अनुरुप प्रयोगात्मक ज्ञान प्रदान गर्न विद्यार्थी र स्थानीय सरकार बीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।
अवलोकन गर्न प्यूठान नगरपालिका पुगेका विद्यार्थीहरुलाई स्थानिय सरकार सञ्चालन संरचना बारे प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले जानकारी गराएका थिए । विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रमले नसमेटेको स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयारी गरी लागू गरिएको नगर प्रमुख योगीले बताए ।
“स्थानीय पाठ्यक्रममा नगरपालिकाको प्राकृतिक सम्पदा, स्थानीय पेशा व्यवसाय, आर्थिक क्रियाकलाप र सामाजिक संस्थाको विषय समेटिएको छ । नगरप्रमुख योगीले भने–“स्वास्थ्य, प्राकृतिक प्रकोप र जोखिम व्यवस्थापनका साथै संस्कार, संस्कृति तथा रहन सहन लगायतका विषयवस्तु समावेश गरेका छौं ।” नगरपालिका भित्रको आर्थिक, सामाजिक, भौतिक तथा शासकीय पक्ष, वन वातावरणको अवस्था बारेमा विद्यार्थीलाई सुसुचित गराएका थिए ।
त्यस्तै नगर उप प्रमुख देवेन्द्र वर्माले आफ्नो मुलुकको भविष्य बोक्ने आजका कर्णधार बालबालिकाबाट प्राप्त सुझावले सम्वृद्ध नगरपालिका बनाउन महत्वपूर्ण हुने बताए ।
नगरपालिकाले कक्षा ८ सम्मका विद्यार्थीका लागि अनिवार्य विषय बनाएर एक सय पूर्णाङ्कको पाठ्यक्रम नै लागू गरेको छ । पाठ्यक्रम लागू भइसकेपछि आगामी दिनमा व्यवहारिक सिकाइको सिलसिला नियमित रूपमा नै सञ्चालन हुने शिक्षा शाखा प्रमुख बासु पण्डितले बताए ।
आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी पढाउनुपर्ने प्रावधान छ । कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि १०० पूर्णाङ्कको स्थानीय विषयको पाठ्यक्रम निर्माण गरी लागू गरिएको छ ।