प्यूठान।माण्डवी गाउँपालिका ३ जस्पुर स्थित त्रिदेव प्यालेसमा पाँच दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको छ।सहकारी प्रशिक्षालय बाँकेको आायोजना र जिल्ला सहकारी संघ लि.प्यूठानको समन्वयमा शनिवार देखि तालिम सञ्चालन भएको थियो ।
तालिम समापन सत्रमा बोल्दै लुम्विनी प्रदेश कृषि, भुमि, व्यवस्था तथा सहकारी मन्त्रालय सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेलले हरेक क्षेत्रमा सफल हुनका लागि सकारात्मक सोंच हुनु पर्ने बताए । ‘हामी प्रविधिको युगमा आइसकेका हुंदा आवश्यक पर्ने विवरणहरु सहजै पाउन सक्छौं ।’ उनले भने–‘यो सजिलो माध्यमलाई प्रयोग गरेर आफ्ना सहकारी संस्थाहरुलाई परिवर्तन गर्न जरुरी छ ।’ संघीय राज्यले सहकारी क्षेत्रमा लगानी गर्न नसकेको उनले बताए ।
आगामी आर्थिक वर्ष २०८२÷०८३ मा पल्र्स र एमसीआइ विधि मार्फत सहकारी संस्थाहरुको वार्षिक कार्यसम्पादन मुल्यांकन गरिने समेत जानकारी दिए । ‘प्रदेश सरकारको नियमन क्षेत्राधिकार भित्र रहेका सहकारीलाई मन्त्रालय मातहका कार्मचारीलाई तालिम प्रदान गरिने छ ।’ कार्यकारी उपाध्यक्ष पोख्रेलले भने–‘स्थानिय तहको नियमन क्षेत्र भित्रका सहकारीहरुलाई शाखा प्रमुखहरुलाई समेत तालिम प्रदान गरि सबै कर्मचारीलाई सम्पादन मुल्यांकनमा खटाइने छ ।’ संघीय सरकारले सहकारी संस्थाहरुले तिरेको करले त्यहि सहकारी संस्थाको समग्र विकासमा लगााउनु पर्ने उनले बताए ।
त्यस्तै जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष सुशील पोखरेलले सहकारी संस्थालाई राज्यले पेल्दै गएको बताए । समग्र रुपमा धेरै जसो सहकारी राम्रै भएपनि कतिपय खराव सहकारीको कारण ल्याइएको नीतिले सबैलाई प्रभाव पार्न थालेको उनले बताए ।
सहभागी मध्ये नियमक निकायको तर्फबाट बोल्दै प्यूठान नगरपालिकामा कार्यरत आशिष पोख्रेलले नियमक निकाय र सहकारी संस्थालाई एकै ठाउँमा राखेर तालिम प्रदान गर्दा धेरै राम्रो भएको बताए । त्यस्तै सहकारीको तर्फबाट सिसम बुढाथोकी क्षेत्रीले सहकारी संस्थाको काम गर्न तालिमले थप सहयोग पुगेको बताइन ।
तालिममा सहकारी ऐन तथा नियमावली, सम्पती शुद्धिकरण निवारण सम्बन्धि व्यवस्था, सहकारीमा बचत व्यवस्थापन, सहकारीको अवधारणा मुल्य मान्यता, सहकारी सुशासन, सहकारी व्यवस्थापन प्रणाली, कोष व्यवस्थापन लगायतका १८ वटा विषयबस्तुमा छलफल तथा सिकाइ गरिएको थियो ।
तालिममा जिल्लामा क्रियाशिल सहकारीका व्यवस्थापक, सञ्चालक र नौ स्थानिय तहका सहकारी शाखामा कार्यरत कर्मचारी गरी २८ जनाको सहभागीता रहेको छ । तालिम अवधिभर लुम्विनी प्रदेश कृषि, भुमि, व्यवस्था तथा सहकारी मन्त्रालय सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोख्रेल, सहकारी प्रशिक्षालय बाँकेका निमित्त प्राचार्य आलोक कुमार ओझा, सहकारी प्रशिक्षक हुकुम बहादुर वली, प्रशिक्षक परशुराम न्यौपाने र नवराज बुढाले तालिमको सहजीकरण गरेका थिए ।