समय : ०२:२७ am | सोमबार , मंसिर २३ गते २०८१

विदेशिनुको पिडा

स्वर्गद्वारी अपडेट | मंसिर ७ गते २०८०

विर बल के.सी.

जुम्रि, प्यूठान

“यो संसार तिमीहरुको पनि हो हाम्रो पनि हो, तर अन्त्यमा तिमिहरुकै हो” क. माओ

“युवाहरु हो जिते संसार छ, हारे केही पनि छैन”, कार्ल मार्क्स

वास्तवमा युवाहरु नै देशका मेरुदण्ड हुन्, युवाहरु देशका सचेत नागरिक हुन् देशलाई कता लैजाने भन्ने युवामा भर पर्दछ, युवाहरु नै राष्ट्रको परिवर्तनगामी शक्ति हुन् । त्याग निष्ठा बलिदान र नव निमार्णको सुन्दर भावनाद्धारा प्रतिबद्ध युवाहरु राष्ट्रको अमूल्य उदयमान शक्ति मानिन्छ । युवा स्वभावले बिद्रोही हुन्छन् । उनिहरुको नशा नशामा क्रान्तिकारी परिवर्तनको नबिन उर्जाहरु सल्बलाईरहेको हुन्छ ।

यथास्थितीबाट आफू र आफ्नो समाजमा मुक्ति दिंदै सामाजिक रुपान्तरणको अभियानमा समेत युवा वर्गले अग्रीम भूमिका निर्वाह गरिरहेको हुन्छन् । नेपालको ईतिहासमा १९१६ को राणा विरोधी आन्दोलन देखि वि.सं. २००७, २०१५, २०३६, २०४६ को जन आन्दोलन वि.सं. २०५२ देखि संचालित सशस्त्र जनयुद्ध र २०६२÷६३ को जन–आन्दोलनमा युवाहरुको योगदान अतुलनिय थियो ।

विगत देखि वर्तमान सम्म आइपुग्दा जनमुक्ति, जन–जीविका राष्ट्रिय स्वाधीनता लगायत लोकतान्त्रिक गणतन्त्र ल्याउने कार्यमा नेपाली युवाहरुले प्रदर्शन गरेको वीरता ऐतिहासिक सन्देश बन्न पुगेको छ ।

देशमा विभिन्न राजनीतिक परिवर्तनका बावजुद नेपाली युवाको अवस्थामा सुधार हुन सकेन । नेपालमा प्रत्येक दिन १५०० देखि २००० युवाहरु कामको खोजीमा विदेशिन बाध्य छन् । झण्डै ६० लाख नेपाली युवाहरु श्रमका लागि विदेशिएका छन् । अर्कोतर्फ असुरक्षित श्रमका कारण बर्षेनी हजारौं युवाले ज्यान गुमाउन परेको छ । देशमा रोजगारीको अवसर सिमित छन् श्रमका लागी विदेशीने युवाहरुलाई आवश्यक सीप तथा तालिमको व्यवस्था हुन सकेको छैन जसले गर्दा अदक्ष कामदारका रुपमा विदेशिन बाध्य युवाहरुको पारिश्रमिक पनि न्यून हुनुका साथै जोखिमयुक्त श्रम गर्नुपर्ने बाध्यता रहेको देखिन्छ ।

स्वदेशमै रोजगारीको सिर्जना गरी शिक्षित युवाहरुलाई विदेश पलायन हुनुबाट रोक्नुपर्ने समयमा तिनै युवा वर्गको रेमिटान्सको भरमा नेपाल चलिरहेको अवस्था छ । देशको अर्थतन्त्र तिनै विदेशिएका युवा वर्गले थामिरहेका छन् । नेतृत्वकर्ताहरुले जोश, जाँगर, तागतको भण्डार युवा जमातलाई रेमिटान्सको फ्याक्ट्रीको रुपमा हेरिरहेको भान हुन्छ । नेपालको राजनितिक क्षेत्रमा देखिएको अस्थिरता गम्भीर समस्याको रुपमा रहेको छ । नेपाली युवाले शैक्षिक डिग्रीको प्रमाणपत्र बोकेर पनि स्वदेशमा रोजगारको अवसर नपाउँदा अवसर खोज्दै विदेश पलायन हुनुपरेको छ । यो उनीहरुको रहर नभई बाध्यता हो ।

दक्ष जनशक्तिहरु विदेशिरहदा नेपाल र आम नेपालीलाई प्रत्यक्ष रुपमा असर परिरहेको छ । बैदेशिक रोजगारीमा जाँदा थोरै नेपालीले राम्रो ठाउँमा, राम्रो कम्पनीमा परेर आफ्नो मुहार फेरेका छन् भने प्राय नेपालीहरु भनेको ठाउँमा भने अनुसारको तलब नपाउँदा रित्तो हात फर्किन बाध्य हुन परेको यथार्थ पनि यही समाजमा पाईन्छ । कतिपय नेपालीहरुको विदेशी भुमीमा निधन हुँदा उनिहरुको लास ल्याउन राजनीतिबाट नै असहज परिस्थीती श्रृजना भएको समाचार प्रकाशनमा आउने गर्दछन् । यस अर्थमा हेर्दा बैदेशिक रोजगारको सकारात्मक पक्ष भन्दा नकारात्मक पक्षहरु धेरै छन् । एकातिर दक्ष जनशक्ति विदेशिदा नेपाली भूमीले सोचे अनुसारको प्रगति गर्न सकिरहेको छैन भने ती विदेशीएका जनशक्तिहरुले पनी विदेशमा भने अनुसारको अवसर, तलब र काम नपाउँदा निकै कष्टकर जीवन व्यतित गर्नुपरेको छ ।

परिवर्तनको पथमा सकारात्मक दिशाबोध गर्ने युवा जमात विदेशिदा आज गाउँ घर रित्ता भएका छन् । गाउँ घरमा मृत्यु संस्कारमा समेत् युवाहरु मुस्किलले पाईन्छन् । साँस्कृतिक पर्व तथा समारोहमा युवाको उपस्थिति न्यून छ । खाडीमा गएर काम गर्दाको पिडा, चरम शोषण अत्यधिक गर्मी, साहुको चर्को आदेश, परिवार संगको बिछोडको पीडा आफ्नै कथा बनेर मनभरी उकुस मुकुस भएको व्यथा कम छैन । अझ नेपाली समाजले आफन्तहरुको मृत शरीर बाकसमा प्राप्त गर्दाको पीडा उत्तिकै दर्दनाक छ ।

छोराले बुढेशकालमा स्याहार सुसार गर्ला भन्ने आशा गरी बसेका बाबु आमाहरु त्यही छोराको बोली नसुनी मरिरहेका छन् । कतिपयका बर्षौ लगाएर कमाएको पैसा घर फर्किदा श्रीमतीले बाल बच्चा छाडेर बिदेशमा कमाएर पठाएको पैसा बोकेर भागेपछि आत्महत्या गर्न बाध्य भएका घटना पनि सुन्न र देख्न पाइन्छ । यो पनि बैदेशीक रोजगारको विकराल रुप हो । जब राष्ट्रमा राजनीतिक संकट आयो त्यसबाट आर्थिक दरिद्रता  हाबी हुन पुग्यो । विदेशीने क्रममा कसैका घर बनेका होलान् तर भावनात्मक रुपमा घर बिग्रिएका कयौं यथार्थ पनि छन् ।

विश्वमा विदेशिएर रेमिटान्सकै भरमा चल्ने देशहरु जस्तै चिली, सिंगापुर, साउथ कोरियाहरुमा कुशल प्रशासकहरुले विदेशीने युवाहरुलाई आफ्नै देशमा अवसर सिर्जना गरेर त्यो एकमुष्ट शक्तिलाई देशको पुन निमार्णमा फर्काउदा ती मुलुक व्यवसायिक र सम्पन्न हुन पुगेको छन् । नेपालमा पनि सरोकारवाला निकायले युवा शक्तिलाई स्वदेशमा नै परिचालन गरी स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै रोजगारीको सिर्जना गर्नुपर्नेमा देश हाक्छु भन्ने आफुलाई सर्वेसर्र्वा ठान्ने राष्ट्र, राष्ट्रीयता, राष्ट्रप्रेम, राष्ट्रभाव नभएका नेताहरु र तिनका झोले कार्यकर्ताले देशलाई संकटमा पारेका छन् ।

देशको राजनैतिक अस्थिरता, मिलोमतोमा चरम् भष्ट्रचार, महंगी, कमिशनखोरले गर्दा देश कहिल्यै माथि उठ्न सक्ने अवस्था छैन तलदेखी माथिसम्म आफू र आफ्नालाई मात्र पोस्ने देश र जनताको वास्ता नगर्ने दलाल र भष्ट्रचारीहरुले देश बेचेको अवस्था छ, ७४ हजार प्रतिव्यक्ति ऋण छ । देशको अर्थतन्त्र ध्वस्त छ, भष्ट्रचारीहरुको हालीमुहाली, नेता नै सुनतस्कर, माफिया, गुण्डा, हत्या, बलत्कारमा संलग्न, जातीय युद्ध, प्रशासन लगायत अदालत नेताको गुलामी, कृषि सून्य, एम.सि.सि. सम्झौता मार्फत अमेरिकी साम्रराज्यवादको हाली मुहाली, छिमेकी राष्ट्रले आफ्नो नक्सामा नेपालको भूमि देखाउनु आदि विभिन्न कारणले युवा शक्तिमा मनोवैज्ञानीक असरको कारण अहिले आएर झन् देश छाड्न बाध्य हुनेको कमी छैन । भोलिका दिनमा सिरिया, अफगानिस्तान, युक्रेनको जस्तो युद्ध नेपालमा नहोला भन्न सकिन्न । अव बाँकि रहेका युवालाई पनि आफ्नो झोला बोकाएर परजीवी बनाउने होइन बरु श्रमलाई इज्जत गर्न सिकाउँदै स्वावलम्बी बनाउन सके आत्मनिर्भर बन्दै पसिनाको मूल्य सही ठाउँमा सदुपयोग गर्ने क्षमताको वृद्धि विकास हुनेछ ।

के.सी नेपाल कम्युनिस्ट पार्टी(विप्लव) का युवा संगठनको केन्द्रीय सदस्य हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्