समय : ०१:१९ pm | शनिबार , श्रावण १२ गते २०८१

प्युठान नगरपालिकाको उत्पादनमा आधारित अनुदान प्रभावकारी बन्दै

स्वर्गद्वारी अपडेट | माघ १७ गते २०८०

प्यूठान । नेपाल सरकारले दिने अनुदान रकमलाई प्रभावकारी बनाउने उदेश्यले स्थानीय सरकारले उत्पादनमा आधारित अनुदान कार्यक्रम अघि सारेको छ । प्यूठान नगरपालिकाले गत आर्थिक वर्ष देखि उत्पादनमा आधारित अनुदान प्रदान गर्दै आएको हो ।

गत आर्थिक वर्षमा कार्यविधि बनाइ २०७९ चैत्र देखि २०८० असार १५ गते सम्म २ लाख ४० हजार अनुदान रकम वितरण गरेको प्यूठान नगरपालिकाका भेटनरी शाखा प्रमुख गिरी राज पौडेलले जानकारी दिए । दुधमा प्रतिलिटर १० रुपैया अनुदान दिने गरेको बताउदैं प्यूठान नगर क्षेत्र भित्रका २ वटा सहकारीसंग सम्झौता गरी काम गरेको पौडेलले बताए । ‘यहि असोज मसान्तसम्म १५ हजार लिटर दुध संकलन भएको तथ्यांक आएको छ ।’ उनले भने–‘अब नागवेली सहकारीले तथ्यांक दिनासाथ अनुदान रकम भुक्तानी दिनेछौं ।’

प्यूठान नगरपालिका १ खैरामा रहेको शिवालय दुग्ध सहकारी र प्यूठान नगरपालिका ३ जुम्रीमा रहेको नागवेली बहुउदेश्यीय कृषि सहकारी संस्थाले दिएको तथ्यांक अनुसार किसानलाई अनुदान रकम वितरण गर्ने गरेको उनको भनाइ छ । अब मासु उत्पादनमा पनि अनुदान विवरणका गर्नका लागि कार्यविधि बनाइ रहेको पौडेलले जानकारी दिए ।

त्यस्तै कृषिजन्य तर्फ उत्पादनमा आधारित अनुदानका लागि प्रक्रियामा रहेको कृषि शाखा प्रमुख अजित पौडेलले बताए । चालु आर्थिक वर्षमा २५ लाख बजेट विनियोजन गरेको बताउदैं नागवेली बहुउदेश्यीय कृषि सहकारी संस्थासंगै समन्वय गरेर अनुदान प्रदान गरिने उनको भनाइ छ ।

उता सहकारीकर्मी एवं किसान भोज बहादुर बस्नेतले दैनिक २५ लिटर दुध उत्पादन गरी सहकारीमा लैजाने र सहकारी मार्फत अनुदान रकम प्राप्त गर्ने गरेको बताउछन् । ‘सहकारीले ३–३ महिनाको फरकमा अनुदान सहितको रकम किसानको खातामा जम्मा गरिदिने गरेको छ ।’ बस्नेतले भने–‘सबै कृषकहरुलाई सहकारी आवद्ध गराई सहकारी मार्फत नै उत्पादनमा आधारित अनुदान कार्यक्रम लैजानु पर्छ ।’ अब प्यूठान नगरपालिका भित्रका सबै वडालाई समेट्न जरुरी रहेको बताउदै सेन्टर कलेक्सन सञ्चालन गर्नु पर्ने बताए ।

दुध उत्पादनमा प्रतिलिटर १० रुपैया अनुदान दिन थालेपछि किसानलाई राहत पुग्नुका साथै दुध उत्पादन तथा विक्री वितरणमा बृद्धि भएको  प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले बताए । ‘यो कार्यक्रमले किसानहरुलाई सकारात्मक प्रभाव पारेको छ’–मेयर योगीले भने–‘हाम्रो नगरपालिका कृषि क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि अझै व्यवस्थित बनाएर यस्ता कार्यक्रमहरु ल्याउन जरुरी छ ।’ प्रत्येक वडामा संकलन केन्द्र बनाएर सहकारी सम्म ल्याउने ढुवानीको व्यवस्थ ागर्न पाए किसान सहज हुने उनले बताए ।

माण्डवीले दुध र खसीबोकामा अनुदान दिने

सोही अनुसार माण्डवी गाउँपालिकाले दुध उत्पादन तथा खसीबोका तथा पाठापाठी विक्री गर्ने किसानलाई उत्पादनमा आधारित अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष देखि लागु हुने गरि अनुदान दिन थालेको माण्डवी गाउँपालिका कृषि शाखा प्रमुख सनत खत्रीले बताए ।

मासिक १ सय ५० लिटरसम्म दुध विक्री वितरण गरेमा प्रति लिटर ५ रुपैया र १ सय ५० भन्दा बढि विक्री वितरण गरेमा प्रतिलिटर १० रुपैया र खसीबोका तथा पाठापाठीमा प्रति गोटा १ सय रुपैयाका दरले अनुदान दिने शाखा प्रमुख खत्रीले जानकारी दिए ।

 ‘पहिले नै अनुदान दिनु भन्दा उत्पादन पश्चात अनुदान दिदाँ साच्चिकै कृषि कर्ममा लागेका किसानलाई राहत हुनेछ’– प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले भने–‘यो कार्यक्रमले हाम्रो गाउँपालिकालाई आत्म निर्भर बनाउन सहयोग गर्नेछ ।’ गाउँपालिका भित्रका रहेका किसानहरुलाई  सहयोग पुग्नुका साथै कृषि जन्यबस्तु उत्पादनमा बृद्धि हुने विश्वास लिएका उनले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page