समय : ०५:४० am | मङ्गलबार , फागुन ११ गते २०८२

चट्याङ लागेर दुई जनाको मृत्यु

स्वर्गद्वारी अपडेट | असाेज ४ गते २०७९
स्वर्गद्धारी अपडेट ।  मकवानपुर र सर्लाहिको दुई छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मृत्यु हुनेमा मकवानपुरको वकैया–११ आहालडाँडाका अन्दाजी ५५ वर्षीय आइतसिंह भोलन रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जनाइएको छ । चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता टेकबहादुर कार्कीले बताए । उता सर्लाहीको ईश्वरपुर नगरपालिका १२ गुईडुङका २८ वर्षीय प्रेमबहादुर घलानको पनि सोमबार साँझ हावाहुरी र वर्षासँग परेको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर गम्भिर घाइते भएका उनलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा लगिएको थियो। त्यहाँ चिकित्सकले घलानलाई मृत घोषणा गरिदिएपछि उनको शव पोष्टमर्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ। चट्याङ लागेर सोही ठाउँका २७ वर्षीय बुद्धबहादुर पाख्रिन, उनकी श्रीमती २६ वर्षीया नन्दीमाया घालान, छोरी ३ वर्षीया प्रतिमा र स्थानीय रुद्रबहादुर सन्तयाङ घाइते छन्। घाइतेहरुको अवस्था मध्यम रहेको र उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो पनि पढ्नुहोस्