समय : ०७:५५ pm | आइतबार , कार्तिक १६ गते २०८३

एक लाख पुरस्कारसहित विजयपथ कपको उपाधि सरुमारानीलाई

स्वर्गद्वारी अपडेट | कार्तिक १६ गते २०८३

प्यूठान। प्यूठान नगरपालिका–३ द्वारा आयोजित विजयपथ कप खुला भलिबल प्रतियोगिताको उपाधि मगर समाज सरुमारानीले जितेको छ। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सरुमारानीले एक लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो।

प्रतियोगितामा नौबहिनी गाउँपालिकाको ग्रामीण विकास क्लब उपविजेता बनेको छ भने प्यूठान नगरपालिका–५ को टोलीले सान्त्वना स्थान हासिल गरेको छ।

विजुवारस्थित गणतान्त्रिक खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा जिल्लाका नौ स्थानीय तहबाट १० टोलीको सहभागिता रहेको थियो।

प्यूठान नगरपालिका–३ का वडाध्यक्ष सुमनराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा नगरप्रमुख विष्णुबहादुर योगी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

समापन कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले जिल्लामा खेलकुदको क्षेत्रलाई विस्तार गर्दै खेलाडीलाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए। उनले यस्ता प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त समेत गरेका थिए।

यो पनि पढ्नुहोस्