काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्ने बताएका छन्।
विजयादशमीको शुभकामना सन्देश दिँदै उनले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्नेमा जोड दिएका हुन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत दिएको शुभकामना सन्देशमा नागरिकले सरकार आफ्नो साथमा रहेको महसुस गर्ने वातावरण बनाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको बताएका छन्।
‘आजको दिनमा आसुरी प्रवृत्तिका रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ,’ उनले भनेका छन्, ‘इमानदार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ।’
विजयादशमीलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री शाहले यस पर्वले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरणा दिने बताएका छन्।
उनले पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि विजय प्राप्त गरेको र भगवान् रामले रावणको अन्त्य गरेको प्रसङ्ग उल्लेख गर्दै देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना दिएका छन्।
प्रधानमन्त्री शाहले विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजका सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताबद्ध गर्ने विश्वास व्यक्त गरेका छन्। चाडपर्वले वर्षौँदेखि टाढिएका साथीभाइ तथा आफन्तसँग आत्मीयता साट्ने अवसरसमेत दिने उनको भनाइ छ।
उनले सबैलाई आ–आफ्नो अवस्था र क्षमताअनुसार विजयादशमी मनाउन तथा आपसमा सद्भाव, एकता, सम्मान र माया बाँड्न आग्रह गरेका छन्।
#विजयदशमी








