समय : ११:१८ pm | बुधबार , असाेज ७ गते २०८३

प्युठानमा ‘ट्राफिक प्रहरीसँग रेडक्रस स्वयंसेवक कार्यक्रम’ सुरु

स्वर्गद्वारी अपडेट | असाेज ७ गते २०८३

प्यूठान।ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले 'ट्राफिक प्रहरीसँग रेडक्रस स्वयंसेवक कार्यक्रम' बुधबारबाट सुरु भएको छ।प्यूठान नगरपालिका–४ मित्रमणि चोकबाट सो कार्यक्रम  शुभारम्भ भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठान र ईलाका प्रहरी कार्यालय बिजुवारको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बिजुवार शाखाको समन्वय एवं सहयोगमा सञ्चालन हुने कार्यक्रम असोज ७ गतेदेखि ९ गतेसम्म तीन दिन सञ्चालन हुनेछ।

बुधबार र बिहिबार बिहान ८:३० देखि १०:०० बजेसम्म तथा बेलुका ४:०० देखि ५:०० बजेसम्म रेडक्रस स्वयंसेवकहरूले ट्राफिक प्रहरी तथा नेपाल प्रहरीसँगै ट्राफिक व्यवस्थापनमा सहयोग गरिने जिल्ला ट्राफिक कार्यालय प्युठानका प्रमुख बिष्णुप्रसाद न्यौपानेले बताए।साथै, साँघुरा मोड, पुल आसपास तथा जोखिमयुक्त सडकका ब्ल्याक स्पटहरूमा स्वयंसेवकसहित सडक प्रयोगकर्ताको सहभागितामा सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।बिहिबार सडक दुर्घटनामा घाइते भएकाहरूलाई आवश्यक पर्न सक्ने रगतको अभाव न्यूनीकरण गर्ने उद्देश्यले रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिनेछ प्रमुख न्यौपानेले बताए।

कार्यक्रम प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीको अध्यक्षतामा  भएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्युठानका शान्तिराज परसाईं विशिष्ट अतिथि, जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारी, नेपाल रेडक्रस सोसाइटी बिजुवार शाखाका प्रमुख गोमान पुलामी, सडक प्रयोगकर्ता, सञ्चारकर्मी तथा चालक–सहचालकलगायतको उपस्थिति रहेको थियो।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीले सम्पूर्ण सडक प्रयोगकर्तालाई ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न आग्रह गरेका थिए। साथै, स्वयंसेवकहरूलाई सुरक्षित रही ट्राफिक प्रहरीसँग सहकार्य गर्दै दुर्घटना न्यूनीकरणमा योगदान दिन तथा सिकेका अनुभवहरू घरपरिवारमा समेत साझा गर्न आग्रह गरेका थिए।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक विष्णु प्रसाद न्यौपानेले सडक प्रयोगकर्ताले सडक पार गर्दा अपनाउनुपर्ने सावधानी तथा सुरक्षित रूपमा सडक प्रयोग गर्ने तरिकाबारे जानकारी गराएका थिए। उनले तीव्र गतिमा सवारी नचलाउने, मोटरसाइकल तथा अन्य दुईपाङ्ग्रे सवारी चलाउँदा अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्ने, सवारी साधनमा सिट बेल्ट लगाउने, सवारीको क्षमताभन्दा बढी यात्रु नराख्ने, अनावश्यक रूपमा हर्न नबजाउने तथा जथाभावी पार्किङ नगर्नेलगायतका विषयमा स्वयंसेवक, चालक–सहचालक तथा उपस्थित सम्पूर्णलाई सचेत गराएका थिए।

साथै बाटोमा हिडेने पैदलयात्री,  सवारी साधन चलाउने चालकलाई सुरक्षितरुपमा यात्रा गर्न खटिएका रेडक्रस स्वयमसेवकहरुले सचेत गराउंदै आग्रह गर्नुका साथै आफ्नो र अरुको सुरक्षाको लागि ट्राफिक नियमको पालना गर्नुपर्ने विषयमा सचेतना समेत प्रदान गरेका थिए।

यो पनि पढ्नुहोस्