प्युठान।नौबहिनी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५६ करोड ७९ लाख ३१ हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
मंगलबार सम्पन्न २० औँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष बिष्णा थापाले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिईन।सहभागिता, समावेशिता, सामाजिक न्याय, पारदर्शिता, दिगो विकास र सुशासनलाई आधार बनाएर ल्याइएको बजेटले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी, वातावरण संरक्षण तथा प्रशासनिक सुदृढीकरणलाई प्राथमिकतामा राखेको छ।
उपाध्यक्ष थापाका अनुसार आगामी आर्थिक वर्षका लागि कुल ५६ करोड ७९ लाख ३१ हजार ८ सय रुपैयाँ बराबरको स्रोत व्यवस्थापनको अनुमान गरिएको छ।संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानतर्फ १० करोड ९८ लाख रुपैयाँ, संघीय बिभाज्य कोषबाट प्राप्त हुने ११ करोड ९७ लाख छुट्याइएको छ।सशर्त अनुदानतर्फ २४ करोड ९१ लाख ९ हजार रुपैयाँ र नेपाल सरकारबाट प्राप्त विशेष अनुदानतर्फ ९१ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ७१ लाख १५ हजार रुपैयाँ, सशर्त अनुदान १ करोड १४ लाख ९५ हजार रुपैयाँ तथा समपूरक अनुदान १ करोड ८५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
प्रदेश सरकारबाटप्राप्त हुने बिशेष अनुदान २२ लाख, सशर्ततर्फ ७० लाख,समपुरक अनुदानतर्फ ७५ लाख र गाउँपालिकाको आन्तरिक अनुमानित आय २ करोड ४९ लाख १२ हजार ८ सय बिनियोजन गरेको छ।
अनुमानित कुल वजेट मध्ये २७ करोड ९० लाख ३१ हजार ८ सय रुपैयाँ रहेको र सो मध्ये प्रशासनिक खर्चतर्फ ११ करोड ४० लाख ३० हजार रुपैया बिनियोजन गरिएको छ। पुँजीगत तर्फ १६ करोड ५० लाख १ हजार ८ सय रहेको छ।कुल बजेट मध्ये वडास्तरीय योजना तथा कार्यक्रम तर्फ २ करोड ८० लाख र बिषयगत शाखाहरुको लागि ६ करोड ८७ लाख २१ हजार ८ सय र समपुरकतर्फ १ करोड ३० लाख बिनियोजन गरेको छ।
त्यस्तै गाउँपालिका स्तरीय योजना तथा कार्यक्रमतर्फ ५ करोड ५२ लाख ८० हजार रुपैंया छुट्याइएको छ।
गाउँपालिकाले बजेट र नीति तथा कार्यक्रममार्फत विकास निर्माणलाई तीव्रता दिनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।








