समय : १०:१३ pm | सोमबार , असार १ गते २०८३

सरुमारानीमा एक वर्षमै उप्कियो कालोपत्रे

स्वर्गद्वारी अपडेट | असार १ गते २०८३

प्युठान।प्युठानको ऐरावती–बड्डाडा–पुठाखोला–दाङ सडकखण्डमा गरिएको कालोपत्रे निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै उप्किएको छ।

सरुमारानी गाउँपालिकाले काठमाडौंस्थित सुनछ्हारी कन्ट्रक्सनसँग २०८१ पुस ११ गते उक्त सडकखण्ड स्तरोन्नति तथा कालोपत्रे निर्माणका लागि सम्झौता गरेको थियो। गाउँपालिकासँग कम्पनीले १ करोड ७१ लाख २४ हजार ९० रुपैयाँ  लागतमा सम्झौता गरी काम सुरु गरेको थियो।

निर्माण कम्पनीले सडकमा कालोपत्रे, ग्याबिन जाली, ह्युमपाइप, आरसीसी संरचना तथा नाला निर्माणको काम गरेको थियो।निर्माण कार्य २०८२ जेठ ३० गते सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।

तर निर्माण सम्पन्न भएको छोटो समयमै सडकको विभिन्न स्थानमा कालोपत्रे उप्किन थालेको स्थानीयवासीको गुनासो छ। स्थानीय महोम्मत अलीका अनुसार सडकखण्डका करिब एक दर्जन स्थानमा कालोपत्रे भत्किएको, उप्किएको तथा खाल्टाखुल्टी परेको अवस्था देखिएको छ।'निर्माण सम्पन्न भएको धेरै समय नबित्दै सडक बिग्रिन थालेपछी  निर्माणको गुणस्तरमाथि प्रश्न उठाएको छ।' अलीले भने।

स्थानीयवासीले ठेकेदार कम्पनी र सम्बन्धित निकायको लापरवाहीका कारण सडकको अवस्था बिग्रिएको आरोप लगाएका छन्।करोडौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको सडक छोटो समयमै क्षतिग्रस्त भएपछि सार्वजनिक धनको सदुपयोगबारे समेत प्रश्न उठ्न थालेको छ।

यस विषयमा सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले निर्माण कम्पनीलाई सडकको अवस्थाबारे जानकारी गराइसकिएको बताएका छन्।उनका अनुसार कम्पनीलाई क्षति भएका ठाउँको निरीक्षण गरी आवश्यक मर्मत गर्न निर्देशन दिइएको छ।

समाचार तयार पार्दासम्म उक्त निर्माण कम्पनीलाई सम्पर्क गर्न खोज्दा फोनमा घन्टी बज्यो तर उठेन।

यो पनि पढ्नुहोस्