समय : १०:११ pm | सोमबार , वैशाख २१ गते २०८३

अध्यक्षद्वारा विद्यालयको नाममा सामग्री खरिद गरि निजी प्रयोग

प्रधानाध्यापक भण्डारीका अनुसार अध्यक्ष भण्डारीले बाग्दुलामा रहेको  कक्षपति ट्रेडर्सबाट सिमेन्ट, सरिया, जस्तापाता र पेन्ट लगायतका सामग्री विद्यालयको नाममा उधारो लिई आफ्नै घरमा प्रयोग गरेका हुन्।

स्वर्गद्वारी अपडेट | वैशाख २१ गते २०८३

प्युठान।नौबहिनी गाउँपालिका–८ स्थित लुप्लुङ माध्यामिक विद्यालयका  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम भण्डारीबाट गम्भीर आर्थिक अनियमितता भएको खुलेको छ।

अध्यक्ष भण्डारीले कुनै औपचारिक निर्णय र प्रशासनिक प्रक्रिया बिना १ लाख ९१ हजार ८३० रुपैयाँ बराबरका निर्माण सामग्री खरिद गरी आफ्नै घरमा प्रयोग गरेको पाइएको छ।उक्त रकम पछि विद्यालयको खातामा समावेश गरिएको भए पनि पाँच महिनासम्म विद्यालयलाई जानकारी नगराइएको सोहि बिद्यालयका प्रधानाध्यापक बसन्तप्रसाद भण्डारीले जानकारी दिए।‘चालु आर्थिक वर्षमा विद्यालयमा सामान्य रङरोगन बाहेक खरिद आदेशसमेत भएको छैन’उनले भने,‘अध्यक्ष भण्डारीले बिद्यालयको नाम बेचेर व्यक्तिगत प्रयोजनका लागि सामग्री खरिद गरिएको हो।’ सामाग्री खरिद गरिएको  पाँच महिनापछि सप्लायरले बक्यौता माग्दै बिद्यालयमा सम्पर्क गरेपछि मात्रै विषय बाहिर आएको प्रधानाध्यापक भण्डारीले जानकारी दिए।

प्रधानाध्यापक भण्डारीका अनुसार अध्यक्ष भण्डारीले बाग्दुलामा रहेको  कक्षपति ट्रेडर्सबाट सिमेन्ट, सरिया, जस्तापाता र पेन्ट लगायतका सामग्री विद्यालयको नाममा उधारो लिई आफ्नै घरमा प्रयोग गरेका हुन्।

विद्यालय प्रशासनले कुनै खरिद आदेश वा निर्णय नभएको भन्दै भुक्तानी अस्वीकार गरेको छ भने “जसले सामान लिएको हो उसैले तिर्नुपर्छ” भन्ने अडान लिएको छ।उता सप्लायरले भने अध्यक्षकै जिम्मेवारीमा सामान दिइएको भन्दै विद्यालयले नै रकम तिर्नुपर्ने दाबी गरेको छ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष धनेश्वर भण्डारीले श्रीराम भण्डारीले नियतवश गडबडी गरेकोले यस्ता गल्तीले सामाजिक संस्था माथिको मर्यादा र उसको विश्वसनीयतामाथि गम्भीर प्रश्नचिन्ह खडा हुनसक्ने बताएका छन्।

त्यस्तै नौबहिनी गाउँपालिकाका शिक्षा शाखा प्रमुख मेघबहादुर बोहराले विद्यालय व्यवस्थापन समितिको निर्णय बिना वा खरिद आदेश बिना विद्यालयकै जिम्मेवार पदाधिकारीले सामान खरिद गर्नु र व्यक्तिगत प्रयोजनमा प्रयोग गर्नु गैरकानुनी एवम् अपराधिक कार्य भएकोले कानुन बमोजिम कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।

अध्यक्ष श्रीराम भण्डारीले समेत सो घटनालाई स्वीकार गर्दै बिलको भुक्तानी व्यक्तिगत रूपमा रकम भुक्तानी गर्ने  प्राणमन्च अनलाइनमा समेत बताएका छन। 

सरकारी विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षले प्रचलित खरिद नियमावली-ऐन विपरित विद्यालयको नाममा सामान खरिद गरी व्यक्तिगत प्रयोजनमा प्रयोग गर्नु गम्भीर आर्थिक अनियमिता र भ्रष्टाचार भएको मानिन्छ।

घटनाले कानुनी जटिलता निम्त्याउने देखिएको छ।अध्यक्ष भण्डारी नेपाल पत्रकार महासंघ जिल्ला प्यूठानका अध्यक्षसमेत भएकाले यस प्रकरणले संस्थागत मर्यादामाथि समेत प्रश्न उठाएको छ।

यो पनि पढ्नुहोस्