समय : ११:१२ pm | आइतबार , फागुन १० गते २०८२

लमहीको सुनचाँदी पसलमा गोली प्रहार गर्ने व्यक्ति केसी रहेकाे खुलासा

गोली प्रहारपछि केसी लमहीकै एक होटेलमा गएर बसेको र घटनामा प्रयोग गरिएको पेस्तोल त्यहीँ लुकाएर फरार भएको प्रहरीको भनाइ छ।

स्वर्गद्वारी अपडेट | पौष ५ गते २०८२

दाङ।दाङको लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी आतंक मच्चाएका व्यक्ति जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट फरार भएका कैदी भएको खुलासा भएको छ। प्रहरीले घटनामा संलग्न दाङको बंगलाचुली गाउँपालिका निवासी ३१ वर्षीय लेखराज केसीलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार केसीले लुटपाट गर्ने योजनासहित सुन किन्न आएको ग्राहकको रूपमा पसल प्रवेश गरी गोली प्रहार गरेका थिए। घटनापछि फरार भएका उनलाई शुक्रबार बिहान दाङको राजपुर गाउँपालिकास्थित जंगल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार केसी भदौ २५ गते जेनजी आन्दोलनका बेला तुलसीपुर कारागारबाट फरार भएका थिए। रुकुममा भएका आपराधिक घटनामा संलग्न भई १५ वर्षको कैद सजाय भोगिरहेका केसीलाई २०८१ सालमा तुलसीपुर कारागारमा सारिएको थियो। फरारपछि केही समय भारतमा बसेका उनी स्वदेश फर्किएर पुनः आपराधिक गतिविधिमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

गोली प्रहारपछि केसी लमहीकै एक होटेलमा गएर बसेको र घटनामा प्रयोग गरिएको पेस्तोल त्यहीँ लुकाएर फरार भएको प्रहरीको भनाइ छ। मंसिर २७ गते होटेलको कोठा सरसफाइका क्रममा लुकाइएको पेस्तोल पड्किँदा एक जना कामदार सामान्य घाइते भएका थिए।

मंसिर २१ गते भएको उक्त गोली प्रहार घटनाबारे दाङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। #तुलसीपुर खवर अनलाइनबाट

यो पनि पढ्नुहोस्