राधिका भुसाल/पछिल्लो समय गर्भ परिक्षण गरि छोरीलाई गर्भमै मार्ने गरिन्छ । तर, अब स्थानीय सरकारले छोरीहरुको लागि एक कदम माथि उठेर सोच्न थालेको पाइन्छ । समाजमा छोरीलाई हेर्ने दृष्ट्रीकोण अझै फेरिएको छैन।अहिले पनि समाजमा छोरी जन्मदा नाक खुम्चाउने र छोरा जन्मदा भोज खुवाउने प्रचलन कायमै छ । अहिले शिक्षित भनिएका अभिभावकमा पनि छोरा र छोरी बराबर हुन् भन्ने भावना व्यवहारमा पाउन मुस्किल छ । यही मान्यतालाई चिर्न र छोरीप्रति सम्मान बढाउनका लागि प्युठानको सरुमारानी गाउँपालिकाले बालिका मैत्री नीति तथा कार्यक्रम संचालनमा ल्याएको छ । छोरीहरुको प्रोत्साहनका लागि गाउँपालिकाले ६ वटा वडा भित्र जन्मिने हरेक छोरीको नाममा सहकारीमा खाता खोलिदिने गरेको छ । सरुमारानी गाउँपालिकाले छोरीको लागि बचत अभियान थाले संगै छोरी पेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ lप्यूठानका नौ वटा स्थानीय तहहरु मध्ये सरुमारानी गाउँपालिकाले ‘छोरी पेवा बचत कार्यक्रम’ शुरु गरेको छ । आर्थिक वर्ष ०७५र०७६ को साउन देखि जन्मने छोरीहरुको लागि छोरी पेवा बचत कार्यक्रम लागु गरेको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए ।‘हाम्रो समाजमा छोरी जन्मायो भने हेर्ने दृष्ट्रिकोण नराम्रो छ’–पालिका अध्यक्ष झग बहादुर विश्वकर्माले भने,–‘छोरीलाई शिक्षा, स्वास्थ्य लगाएतका क्षेत्रमा टेवा पुर्याउन छोरी पेवा कार्यक्रम संचालन गरेका हौँ ।’यस कार्यक्रम मार्फत छोरीमा हुने लैङ्गिक हिंसा न्युनीकरण, छोरा र छोरीमा हुने विभेद हटाउन, समाजमा छोरीलाई सकारात्मक रुपमा हेर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम ल्याएको उनले बताए ।गाउँपालिकाले आर्थिक वर्ष ०७५र०७६मा २ लाख ५० हजार रकम विनियोजन गरि छोरी पेवा कार्यक्रम सुरुवात गरेको थियो l कार्यक्रम सुरुवात गरेको आर्थिक बर्ष देखि जन्मीने छोरीहरुका लागि मासिक एक सय रुपियाँ जम्मा गरिदिने दोस्रो वर्ष दुई सय तेस्रो वर्ष तिन सय चौथो वर्ष चार सय र पाचौ वर्ष मा पाँच सय जम्मा गरि हाल सम्म ६०४ जना रहेका छन्।२०७९ /०८०मा ३५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष विश्वकर्माले जानकारी दिए ।जन्मेको पहिलो महिना देखि १० वर्ष सम्म नियमित रुपमा छोरी पेवा रकमको एक सय रुपैया बचत गरिदिने उनले बताए ।प्युठानका नौ स्थानीय तह मध्य सरुमारानिमा मात्र यो कायक्रम संचालन भएको छ l यो कार्यक्रम नितान्त नौलो हो।गाउँपालिकाले पालिका भित्र रहेका २ वटा सहकारीबाट बचत गरिदिएको सरुमारानी गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत देवीराम पाठकले बताए।ऐरावती बहुउद्देशीय साना किसान सहकारी संस्था बड्डाडा र साना किसान कृषि सहकारी संघ बांगेसाल गरि २ वटा सहकारीमा बचत गर्ने प्रमुखु प्रसासकिय अधिकृत पाठकले बताए।उनले भने,–‘यो कार्यक्रमले सहकारीलाई प्रोत्साहन, प्रवर्धन गर्न मद्यत मिल्ने छ।’छोरी जन्मिए पछि जन्मदर्ता र वडाको सिफारिसमा सहकारीमा जम्मा गर्न सकिने उनले जानकारी दिए।आर्थिक रुपमा सवल भए छोरीहरुको शिक्षामा सहयोग पुग्ने र उनीहरुमाथिको हिंसामा कमि आउने अपेक्षा गरिएको छ ।