समय : १२:१४ am | शुक्रबार , श्रावण २८ गते २०८३

रोल्पा पहिरो: मृत्यु हुनेको संख्या चार पुग्यो, अझै ८ जना बेपत्ता

घटनास्थलको भौगोलिक अवस्था र पहिरोको जोखिमका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको छ।

स्वर्गद्वारी अपडेट | श्रावण २८ गते २०८३

रोल्पा। रोल्पामा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ। जिल्लाको थबाङ गाउँपालिका-५ कोटलबारामा गएराति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको हो । पहिरोमा परेर अझै आठ जना बेपत्ता छन् भने दुई जना घाइते भएका छन्।

गएराति पौने ९ बजे घरमाथिबाट अचानक खसेको पहिरोले स्थानीयका ६ वटा घर तथा गोठ पुरेको थियो। घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले रातिदेखि नै खोजी तथा उद्धार गरिरहेका छन्।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी उपरीक्षक पञ्चकुमार बाखुका अनुसार पहिरोमा परी थबाङ-५ का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुनमगर, ७१ वर्षीया मनरखी पुनमगर र ७५ वर्षीय डलबहादुर पुनमगरको मृत्यु भएको छ।

घाइते हुनेमा २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय सञ्जय घर्तीमगर छन्। उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

पहिरोमा परेर ४० वर्षीया जुनकुमारी पुनमगर, ९ वर्षीय अशिम पुनमगर, ६ वर्षीय अशोक पुनमगर, ८० वर्षीय अजम्बर पुनमगर, ७८ वर्षीय बलबहादुर पुनमगर, ७२ वर्षीय लिलबहादुर पुनमगर, ७१ वर्षीया मनी पुनमगर र ६७ वर्षीया हस्तकला रोकामगर बेपत्ता छन्।

प्रहरीका अनुसार सुरुमा पहिरोमा १० जना बेपत्ता भएको विवरण आएको थियो। खोजीका क्रममा दुई जनाको शव फेला परेपछि हाल आठ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।

घटनास्थलको भौगोलिक अवस्था र पहिरोको जोखिमका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको छ।

रोल्पा सदरमुकामबाट दुर्गम क्षेत्रमा पर्ने थबाङमा उद्धार सामग्री र थप जनशक्ति पुर्‍याउनसमेत चुनौती रहेको प्रहरीले जनाएको छ।

यो पनि पढ्नुहोस्