प्युठान।प्युठानमा खाना पकाउने ग्यासको अभाव चुलिएपछि जिल्ला प्रशासन कार्यालय प्युठानले ग्यास डिलरहरूमा अनुगमन तीव्र बनाएको छ।
आइतबार प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईं र जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख नरहरी अधिकारीसहितको टोलीले जिल्लाका विभिन्न ग्यास डिलरमा पुगेर अनुगमन गरेको हो।
ग्यास अभावबाट सर्वसाधारणसँगै विद्यार्थी बढी प्रभावित भएको भन्दै प्रशासनले विद्यार्थीका लागि कम्तीमा १० प्रतिशत ग्यास छुट्याएर मात्रै अन्य उपभोक्तालाई बिक्री गर्न डिलरहरूलाई निर्देशन दिएको छ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी प्रसाईंले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा अवैध कारोबार गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी समेत दिएका थिए।
पछिल्लो समय नियमित आपूर्ति हुन नसक्दा जिल्लाका विभिन्न क्षेत्रमा उपभोक्ता घण्टौँसम्म लाइन बस्नुपर्ने अवस्था छ।ग्यास अभावका कारण विद्यार्थीको दैनिक खाना व्यवस्थापनमै समस्या देखिएपछि प्रशासनले उनीहरूलाई प्राथमिकतामा राखेको हो।
प्रशासनले ग्यास अभावको वास्तविक कारण पहिचान गर्न थप निगरानी र अनुगमन गर्ने जनाएको छ।








