प्युठान।प्युठानको झिमरुक गाउँपालिका–५ ढाडस्थित झिमरुक नदीमा एक महिलाको शव फेला परेको छ।
इलाका प्रहरी कार्यालय ओखरकोटका अनुसार झिमरुक गाउँपालिका–२ गडेरीपानी निवासी डिपाल थापाकी श्रीमती, अन्दाजी २५/२६ वर्षीया बेदना थापा सोमबार बिहान करिब १०:३० बजे एक महिनाकी छोरीको उपचार गराउन भन्दै घरबाट बुटवल जाने गाडीमा हिँडेकी थिइन्।
प्रहरीका अनुसार उनले ढाड बजारमा पुगेपछि छिमेकी २० वर्षीय सन्तोष केसीलाई 'मेरो बच्चा छोपिदिनु' भन्दै शिशु जिम्मा लगाएर कतै गएको र त्यसपछि सम्पर्कविहीन भएकी थिइन्।घटनाबारे दिउँसो करिब १२:३० बजे इलाका प्रहरी कार्यालय ओखरकोटमा जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक निर्दोष जिसीको नेतृत्वमा टोली खोजतलासमा खटिएको थियो।
खोजीका क्रममा झिमरुक गाउँपालिका–५ ढाडस्थित झिमरुक नदीमा बेदना थापाको शव फेला परेको प्रहरीले जनाएको छ। शव नदीबाट निकाल्ने कार्य सम्पन्न भएपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानबाट प्रहरी निरीक्षक गणेश ज्ञवालीको नेतृत्वमा SOCO टोली घटनास्थलमा खटिएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको छ।








