प्युठान– भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि प्यूठानका सात वटा पालिकाले आर्थिक सहयोग घोषणा गरेका छन्।
झिमरुक गाउँपालिकाले गाउँपालिका अन्तर्गतका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको तलबबाट १० लाख रुपैयाँ, गौमुखी गाउँपालिकाले २ लाख रुपैयाँ र जनप्रतिनिधि तथा कर्मचारीको एक दिनको तलब बराबरको रकम तथा ऐरावती गाउँपालिकाले ११ लाख ९ हजार ५६९ रुपैयाँ, प्युठान नगरपालिकाले १६ लाख ७० हजार ३०४ रुपैया, माण्डवी गाउँपालिकाले १० लाख रुपैंयाँ, मल्लरानी गाउँपालिकाले ५ लाख, सरुमारानी गाउँपालिकाले ५ लाख रुपैंया गरि ५९ लाख ७९ हजार ८ सय ७३ रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको ती गाउँपालिकाहरूले जनाएका छन्।
प्युठान नगरपालिकाले जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा बिद्यालयका शिक्षक/कर्मचारीबाट २ दिनको पारिश्रमिक बराबरको रकम जम्मा गरेको नगर प्रमुख बिष्णु बहादुर योगीले बताए।
जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीबाट संकलित उक्त रकम जम्मा गरिने झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए।
माण्डवी गाउँपालिकाले बिपत व्यबस्थापन कोषबाट १० लाख रुपैया जम्मा गरिने माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले बताए।पालिकाले केहि समय अघि रोल्पाको थवाङ्गमा भएको बाढी पहिरो पिडितहरुलाई समेत ५ लाख रकम जम्मा गरिदिने अध्यक्ष अधिकारीले जानकारी दिए।







