प्यूठान।प्यूठानको बिभिन्न स्थानमा ५ वटा शव फेला परेका छन् ।माडी नदी र सोही नदीको सहायक लुङ्ग्री खोला किनारमा ती शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार स्वर्गद्वारी नगरपालिकाको जुडापाटमा माडी नदी किनारमा पहिचान नखुलेका अन्दाजी १२ वर्षका बालकको शव फेला परेको छ। यस्तै स्वर्गद्वारीस्थित माडी नदीकै किमिचौरमा एक पुरूष तथा स्वर्गद्वारी नगरपालिकाको गोठिवाङस्थित माडी किनारमै एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारिले जानकारी दिए ।
बिहीबार बिहान साढे ९ बजेको समयमा स्वर्गद्वारी नगरपालिकाको सरोजास्थित लुङग्री खोला किनारमा बायाँ खुट्टाको घुँडादेखि तलको भाग नरहेको अवस्थामा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी नरहरी अधिकारीले १० बजेपछि जिल्लाको माण्डपी गाउँपालिका – ५ स्थित अर्थौसस्थित खोला किनारमा थप एक जना पुरुषको शव फेला परेको जानकारी दिए।
प्यूठानका विभिन्न खोलाहरुमा फेला परेका शवहरु थवाङको पहिरो पछि बाढीले बगाएर ल्याएको हुन सक्ने अनुमान गरिएको डिएसपी अधिकारीले बताए ।'थवाङमा पहिरो पछि बाढीले बगाएर ल्याएका मानिसहरु हुन् कि भनेर अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अन्यथा प्यूठानमा मानिस हराएको वा बाढी पहिरोको घटना पनि भएको छैन।’
विभिन्न ठाउँमा फेला परेका शवबारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ।







