दाङ।लुम्बिनी प्रदेश सरकारले मन्त्रायको सँख्या घटाउने भएको छ । मन्त्रालयको प्रशासनिक खर्च घटाउँदै मितव्ययी शासनप्रणालीलाई प्रभावकारी बनाउन मन्त्रालयको संख्या १२ बाट घटाएर ८ मा झार्ने तयारी गरेको छ।
गत जेठ १ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्रालय संख्या घटाउने निर्णय गरिसकेको छ भने कार्यान्वयनका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी पनि पूरा भइसकेको बताइएको छ। अब राजनीतिक सहमति जुट्नासाथ निर्णय कार्यान्वयनमा जाने सरकारको तयारी छ।
आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा समेत मन्त्रालय संख्या घटाउने विषयलाई प्राथमिकताका साथ समावेश गरिएको थियो। सोही अनुसार कृष्णप्रसाद काप्री को संयोजकत्वमा सङ्गठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षण समिति गठन गरिएको थियो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शम्भुप्रसाद मरासिनी का अनुसार समितिले मन्त्रालय पुनर्संरचनासम्बन्धी आवश्यक अध्ययन, विश्लेषण तथा प्रशासनिक खाका तयार गरिसकेको छ। राजनीतिक सहमति जुट्नेबित्तिकै कार्यान्वयन गर्न सकिने अवस्था रहेको उनले जानकारी दिए।
मुख्यमन्त्री चेतनारायण आचार्य ले साउन १ गतेदेखि नै निर्णय लागू गर्ने तयारी भए पनि पछिल्ला राजनीतिक घटनाक्रमका कारण केही समय ढिलाइ भएको बताए। सत्ता समीकरणमा देखिएको सम्भावित परिवर्तनले सहमति जुटाउन समय लागेको उनको भनाइ छ।
उनका अनुसार साउन महिनाभित्रै प्रक्रिया टुङ्ग्याइनेछ। प्रशासनिक खर्च नियन्त्रण, मितव्ययिता र सुशासन प्रवर्द्धनका लागि मन्त्रालय संख्या घटाउनु आवश्यक रहेको उनले बताए।
मुख्यमन्त्री आचार्यले मन्त्रालय पुनर्संरचना कार्यान्वयन हुन नसके प्रदेशको आर्थिक दायित्व बढ्ने मात्र नभई सङ्घीय शासन व्यवस्थाप्रति नागरिकको विश्वाससमेत कमजोर हुन सक्ने चेतावनी दिएका छन्।








