प्यूठान– होटल व्यवसाय क्षेत्रमा जिल्लाकै अग्र स्थानमा रहेको जस्पुरमा सुविधा सम्पन्न होटल सञ्चालनमा आएको छ।जिल्लाको समग्र भागको केन्द्र एवं सबैलाई पायक पर्ने स्थान माण्डवी गा.पा -३ जस्पुर बजारमा त्रिदेव प्यालेसले आइतबार देखी सेवा सुचारु गरेको हो।
उक्त प्यालेसको लुम्बिनी प्रदेश होटल व्यवसायी महासंघका अध्यक्ष महेन्द्र श्रेष्ठले औपचारिक उद्घाटन गरेका छन्।उद्घाटन सत्रमा बोल्दै स्वर्गद्वारीको काखमा रहेको यो प्यालेसले भारतीय पर्यटकहरुलाई समेत तान्न सक्ने सम्भावना रहेको बताए।रोजगारी भन्दा व्यवसायबाट आर्थिक क्षेत्रमा छिटो जीवनस्तर माथि उठ्न सक्छ।कार्यक्रमका प्रमुख आतिथि समेत रहेका श्रेष्ठले भने,‘बैदेशिक रोजगारीको लागि दैनिक हजारौ युवा बाहिरिएको अवस्थामा उदाहरणीय कामगर्नु भएको छ।’ व्यवसाय प्रति लगनशील,निष्ठावान र इमान्दार भएर सफल व्यवसायको परिचय दिन सकिने समेत उनले बताए।

कार्यक्रममा बोल्दै माण्डवी गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमका बिशेष आतिथि नमराज अधिकारीले लगानीको सुनिश्चितता कायम गर्न स्थानिय सरकारको भूमिका रहने बताएका छन्।त्यस्तै होटल व्यवसायी महासंघका केन्द्रिय सल्लाहाकार चन्द्रलाल न्यौपानेले सफल व्यवसाय बन्नको लागि गुणस्तरयुक्त सेवा, सरसफाई, व्यक्तिगत व्यवहार र आवस्यक भौतिक संरचना हुनेपर्ने बताए।
प्युठान उद्योग बाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले ठुलो लगानीमा खोलिने व्यवसायको सुरक्षाका लागि स्थानीय सरकारले नीति निर्माण गरेर आर्थिक तथा भौतिक रुपमा सहयोग गर्नुपर्ने बताएका छन्।सामुहिक लगानीमा व्यवसाय गर्दा जोखिम पनि कम हुनुका साथै परिणाममुखी हुने आचार्यको भनाई छ।

जिल्लामा अहिले साना ठूला गरी करिब ८ सय होटलहरु सञ्चालनमा रहेको होटल व्यवसाय संघ प्यूठानका अध्यक्ष लिलाधर न्यौपानेले बताए।कोभिड -१९ पछी सुस्ताएको होटल व्यवसाय यतिबेला प्युठानमा ठुलो लगानीमा बनेको यस त्रिदेव प्यालेसले आन्तरिक तथा बाह्रय पर्यटनलाई समेत जोड्ने विश्वास लिएको न्यौपानेको भनाइ छ।
होटल विशुद्ध पर्यटन संग जोडिएको क्षेत्र भएकोले जिल्लाको पर्यटन विकासमा राम्रो सहयोग पुग्ने इलाका प्रसाशन कार्यालय जस्पुरका प्रमुख कृष्ण थापाले बताए।होटल संचालनले होटललाई मात्र नभएर चौतर्फी व्यवसायीहरुलाई समेत सहयोग पुग्ने थापाको भनाई छ।सोही कार्यक्रममा निर्माण व्यवसायी संघ प्युठानका बरिष्ठ उपाध्यक्ष शोभाराम न्यौपानेले पछिल्लो समय होटल क्षेत्रमा जिल्लाले राम्रो फड्को मारेको बताएका छन्।

स्थानिय युवाहरु सन्दिप के.सी, सरद बस्नेत, भुवन आचार्य र शुसिम भुसालको संयुक्त लगानीमा संचालन भएको छ।यस प्यालेस जिल्लामा अहिलेसम्मकै उत्कृष्ट एवं सुविधा सम्पन्न होटलहरु मध्य एक हो।जिल्लाको पर्यटकीय क्षेत्रको विकाससँग प्रत्यक्ष सरोकार राख्ने व्यवसाय होटल भएकाले जिल्लाको पर्यटकीय विकासलाई केन्द्र विन्दुमा राखेर संचालनमा ल्याइएको उक्त होटलको अध्यक्ष शरद बस्नेतले बताए। ‘होटल संरचना सहित करिव चार करोडको लागतमा निर्माण गरिएको छ’ उनले भने, ‘युवाहरु बैदेशिक रोजगारमा जाने लर्को लागेको बेला हामीले आफ्नै ठाउँमा सुबिधा युक्त होटल संचालनमा ल्याएका छौ।’यो हाम्रो सपना पनि हो, त्रिदेव प्यालेसले प्युठानमा पर्यटन प्रबर्द्धन र विभिन्न आर्थिक गतिविधिमा सहजता आउने विश्वास लिएको समेत अध्यक्ष बस्नेतको भनाई छ।होटल संचालक सन्दिप केसीको स्वागत मन्तब्य संगै सुरु भएको उद्घाटन सत्रको कार्यक्रम संचालन पत्रकार राधिका भुसालले गरेकी थिईन।

होटलमा विवाह, व्रतबन्ध, सेमिनार,थकाली खाना, स्थानीय परिकार, एसी कोठा,फेमिली रेस्टुरेन्ट गोष्ठी लगायतका कार्यक्रम र टुरिष्टहरुका लागि विशेष खालको सेवाहरु रहेका सञ्चालक टिमले बताएका छन्।एकै दिनमा १ सय भन्दा बढी पाहुनालाई खाना खुवाउन सकिने र ५०/६० जना बस्न सकिने होटल संचालक बताउँछन्।
होटल कोठाको प्रति दिन एक हजार देखी ३५ सय सम्म रहने छ।