समय : ०९:०२ am | मङ्गलबार , भाद्र ९ गते २०८३

देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

रातिसमेत कोशी, बागमती, गण्डकी र लुम्बिनीका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्नेछ।

स्वर्गद्वारी अपडेट | भाद्र ९ गते २०८३

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले आज दिनभर तथा रातिसमेत विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। हाल देशभर सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनीका केही तथा कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर बदली रहनेछ। हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा धेरै स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई क्षेत्रमा समेत वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिसमेत कोशी, बागमती, गण्डकी र लुम्बिनीका विभिन्न क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्नेछ।

भारी वर्षा हुने क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले मौसमसम्बन्धी सूचना र चेतावनीमा अद्यावधिक रहनसमेत अनुरोध गरिएको छ।

यो पनि पढ्नुहोस्