प्युठान।पछिल्लो समय प्युठानमा आत्महत्या गर्नेको संख्या तुलनात्मक हिसाबले बढेको छ।जिल्लामा आर्थिक वर्ष २०८०/०८१ मा मात्र ७५ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ।यसमा पुरुष ३५ र महिला १७ रहेका छन् भने २२ जना बालबालिका समेत रहेका छन्।
पछिल्लो चार आर्थिक वर्ष यता ३ सय जनाले आत्महत्या गरेको देखिएको छ।आ.व.२०७७-०७८ मा ९५ जना, २०७८-०७९मा ६० जना, २०७९-०८० मा ७० जना, २०८०-०८१ मा ७५ जना गरी ३ सय जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी हुमानन्द खनालले जानकारी दिए। आत्महत्या गर्ने १८ देखि ४० वर्ष उमेर समूहका बढी देखिएका छन भने बालबालिकाको संख्या बढ्दो क्रममा रहेको उनले बताए।आत्महत्या न्यूनीकरणका लागि स्थानीय सरकार लगायतका सम्पूर्ण सरोकारवालाले बिषेश खालका कार्यक्रमहरु संचालन गर्नको लागि खनालले आग्रह समेत गरेका छन्।
त्यस्तै गरी जिल्ला प्रशासन कार्यालय प्युठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले आत्महत्याको घटना कम गर्न विद्यालयस्तर देखि नै मनोशिक्षाको अध्यापन गराउनुपर्ने बताउछन्।उनी भन्छन् ‘तत्कालका लागी मनोपरामर्श र जनचेतना नै प्रमुख भए पनि स्थानीय सरकारले स्थानीय पाठ्यपुस्तक तर्जुमा गर्दा सकारात्मक उपयोगी बिषयबस्तुलाई प्राथामिकता राखेर पाठ्यपुस्तकमा समाबेश गराउनु पर्छ।' सुचना प्रविधि,मोबाईल र इन्टरनेट प्रयोगले आम मानिसलाई महत्वकांक्षी बनाएको छ यस प्रयोगलाई नियन्त्रण गर्ने हो भने केही प्रतिशत कम हुने प्रमुख जिल्ला अधिकारी आर्यालले बताए।
गत आर्थिक वर्ष प्युठानमा आत्महत्याका घटनामा कमी ल्याउन प्रहरीले बिद्यालयहरुमा ४० वटा भन्दा बढी लागूऔषध दुर्व्यसनी न्यूनीकरण,बालविवाह न्यूनीकरण र आत्महत्या रोकथामका जनचेतना मुलक कार्यक्रमहरु संचालन गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
आत्महत्याका घटना बढ्दै जानुको मुख्य कारण मानिसको व्यस्त जीवनशैली र तनाव व्यवस्थापन गर्न नसक्नुको कारण पनि हो।तनावग्रस्त मानिसमा घोरिने, चिट्चिट पसिना आउने, बेलाबेलामा झस्किने, कसैसँग कुरा गर्न नचाहने, बहकिने, एकान्तमा बस्न मन पराउने, लागुपदार्थ सेवन गर्नेलगायतका लक्षण देखा पर्छ ।मानवीय इच्छा र आँकाक्षाहरु अनगिन्ती हुने र ती पूरा नहुँदा निराश भएर आत्महत्याको बाटो रोज्ने विज्ञहरु बताउँछन् ।
यसका साथै प्रेममा धोका, पारिवारिक कलह, कमजोर आर्थिक स्थिति, मानसिक रोग, मादकपदार्थ सेवनको लत पनि आत्महत्याका कारण भएको प्रहरी अनुसन्धानले देखाएको छ ।