प्यूठान । अब स्थानिय तहले पर्यटकीय ठाउँलाई उत्पादनसंग जोड्ने कसरत गर्न थालेको छ । नौबिहिनी गाउँपालिकाले स्याउलिवाङ क्षेत्रलाई कृषि पर्यटनको रुपमा विकास गर्न थालेको हो ।
जिल्लाका स्वर्गद्धारी, गौमुखी, ऐरावती, झाक्रिस्थान पछिको महत्वपूर्ण पर्यटकीय तिर्थस्थल नौवहिनीको काखमा रहेको स्याउलिवाङको उत्पादनले जिल्लाकै ध्यान केन्द्रित गर्ने गर्दछ । नौवहिनी गाउँपालिका वडा नंम्बर १ मा अवस्थित धार्मिक पर्यटकीय स्थल नौबहिनी झरना पनि स्याउलिबाङ्ग गाउँको नजिकै रहेको छ । धार्मिक पर्यटकीय स्थल नौबहिनी र कोठिभिर आउने पर्यटकहरुलाई स्याउलिवाङको स्थानिय उत्पादनलाई कोशेली स्वरुप पर्यटकलाई विक्रि गर्ने योजना रहेको नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले बताए । कोदो, मकैको परिकार, रातोसाग, आलु, सिमी लगायतका स्थानिय उत्पादनको स्वाद चाख्ने व्यवस्था मिलाउदै उक्त क्षेत्रको कृषिसंगै पर्यटन क्षेत्रको विकास गर्ने अध्यक्ष थापाको भनाइ छ ।
पर्यटकीय दृष्टिकोणले स्याउलीवाङ क्षेत्र निकै सुन्दर ठाउँ मानिन्छ । यतिवेला बाहानेबाट स्याउलिवाङ जाने बाटो स्थरउन्नती भइरहेको हुंदा स्याउलिवाङ जाने पर्यटकहरुलाई थप सहज हुने उनले बताए । ‘खेलेसीवाङ देखि स्याउलीवाङसम्म पर्यटकहरुलाई पद यात्राको लागि गोरेटो बाटो निर्माण भएको छ ।’ अध्यक्ष थापाले भने–‘सबै भन्दा बढि लगानी नौबहिनी र स्याउलिवाङमा भएको छ ।’ कृषि पर्यटनको रुपमा विकास गर्न हामीले त्यस क्षेत्रलाई प्राथामिकतामा राखेका छौ ।’
पर्यटकलाई पर्खिएको नौबहिनी
पर्यटकीय स्थल नौवहिनीको नामबाटै गाउँपालिकाको नामाकरण समेत नौवहिनी राखिएको छ । रोल्पा र बाग्लुङ्ग जिल्लाको सिमानामा पर्ने यो क्षेत्रले पर्यटकहरुलाई पर्खिरहेको छ ।
जिल्लाकै दुर्गम क्षेत्रमा अवस्थित नौवहिनीका विषयमा धेरै चर्चा गरेको पाईन्छ । नौवहिनीको किवदन्ती नै फरक छ । यस क्षेत्रमा नौवहिनीहरु संगै बसेको भन्ने सुन्न सकिन्छ । नौवहिनी बस्नका लागि गुफा, खेत उत्पादनका लागि खेतका गहरा, नौवहिनी नुहाउने पधेरो देख्न सकिन्छ । नौवटा बहिनी बसेको ठाउँ भएर यस ठाउँको नाम नौवहिनी राखिएको भन्ने किवदन्ती पाईन्छ ।
नौबहिनी क्षेत्र भित्र रहेका धार्मिक तथा पर्यटकीय महत्व बोकेका सम्पदाको प्रवद्धनका लागि काम भइरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए । मुख्य गरी नौबहिनी, खलेसीवाङ, कोठीभिर, स्याउलिवाङ, झुलेनी, त्रिकुटा मन्दिर, बाहुनपोले शिवमन्दिर र माक्रे मन्दिरलाई प्राथमिकतामा राखेको प्रमुख पौडेलले बताए । ‘अहिलेसम्म पालिकाले पर्यटन क्षेत्रमा गरेको लगानीबाट आर्थिक रुपमा प्रतिफल आएको छैन ।’ उनले भने–‘स्थानिय तहले कृषि पर्यटनलाई जोड्दै आर्थिक विकासमा टेवा पुग्नेगरी लगानी गर्नु पर्छ ।’ कुनैपनि जाति विशेषका ऐतिहासिक कुलघरहरुमा लगानी गर्न उचित नहुने उनले बताए । सबै ठाउँमा बजेट खर्च गर्नुभन्दा जिल्ला स्तरको धार्मिक तथा पर्यटकीय स्थललाइ अलि बढि महत्व दिने र स्थानिय तहले पालिका स्तरको एउटा ठाउँलाई मात्र राम्रो पर्यटकीय गन्तव्य बनाउनु पर्ने उनको भनाइ छ ।
हालसम्म पालिकाले पर्यटन क्षेत्रमा करिब २ करोड बजेट लगानी गरेको समेत उनले जानकारी दिए ।

