समय : ०४:४६ pm | सोमबार , माघ २८ गते २०८१

चतुर्भुज महोत्सको तयारी अन्तिम चरणमा

स्वर्गद्वारी अपडेट | माघ ९ गते २०८१

रोल्पा । प्युठान र रोल्पाको संगमस्थल खुङ्ग्री चतर्भुजमा हुने छैठौं चतुर्भुज माण्डवी कृषि पर्यटन व्यापार तथा सांस्कृतिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रोल्पाको सुनिल स्मृति गाउंपालिका वडा नं. २ खुङ्ग्रीमा स्थानीय चतुर्भुज युवा क्लबको आयोजनामा माघ १५ देखि २७ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी चरणमा पुगेको आयोजकले बताएका छन् । 
महोत्सवको तयारी अन्तर्गत स्टल निर्माणका सामान र बाल उद्यानका सामानहरु मेलास्थल आइपुगेका र अन्य तयारीसहित प्रचार प्रसारलाई तीब्रता दिइएको क्लबका अध्यक्ष  कमलविक्रम शाहले जानकारी दिए । अध्यक्ष शाहका अनुसार मेलामा १५० स्टल रहने छन् ।

मेलामा स्थानीय कृषि उत्पादनको प्रवद्र्धन, बजारीकरणलाई प्राथमिकता दिई कृषि उत्पादनप्रदर्शन गर्ने १० स्टललाई निःशुल्क र कृषिजन्य उत्पादनको ब्यापार गर्ने स्टललाई ५० प्रतिशत छुटमा दिइएको प्रचार प्रसार संयोजक गिरीराज गिरीले जानकारी दिए । 
महोत्सवमा आउने दर्शकलाई मनोरन्जन दिन हरेक दिन चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने गिरीले बताए । 
महोत्सव अवलोकनका लागि सय रुपैया टिकट दर कायम गरिएको र जेष्ठ नागरिक तथा अपांगता भएकालाई निशुल्क प्रवेश गर्न दिइने आयोजकले जनाएका छन् । 


महोत्सवले यहांको ऐतिहासिक तथा धार्मिक चतुर्भुज शिव पञ्चायन मन्दिर र त्रिपुरा सुन्दरी मन्दिरको महत्व उजागर गरी पर्यटक आकर्षित गर्ने, स्थानीय रैथाने बाली कालो मासको दाल, मासको फुरौला, तेबाङको सुन्तला र जुनार, स्थानीय कला संस्कृतिको प्रवद्र्धन  हुने गाउंपालिकाको वडा नं २ का सचिव पुष्कर भारतीले बताए । महोत्सवमा एक लाख बढी दर्शक अवलोकनका लागि आउने अनुमान गरिएको आयोजकले बताएका छन् । 

महोत्सव सम्पन्न गर्न श्याम भारतीको संयोजकत्वमा मूल आयोजक समिति,गिरीराज गिरीको संयोजकत्वमा प्रचार प्रसार समिति,मदन गिरीको संयोजकत्वमा स्टल व्यवस्थापन समिति गठन गरी तयारीका काम भइरहेको छ । सुनिल स्मृति गाउंपालिकाको संरक्षकत्वमा हुने महोत्सवलाई सफल बनाउन सिंगो गाउंपालिका सहित वडा नं १ का वडाध्यक्ष पवन कुमार कंवर,वडा नं २ का वडाध्यक्ष नेत्रबहादुर गिरीको समेत विशेष भूमिका रहेको  क्लबका अध्यक्ष कमलविक्रम शाहले बताए ।


महोत्सवमा चर्चित राष्ट्रिय कलाकारहरु पल शाह, शान्तारानी परियार, शान्तिश्री परियार, ज्योति मगर, प्रमोद खरेल, शिव हमाल, शोभा त्रिपाठी, संगिता रानामगर लगायत प्रस्तुतिका लागि आउने निश्चित भएका आयोजकले बताएका छन् ।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्