समय : ०९:२६ pm | सोमबार , फागुन ११ गते २०८२

ट्रक किन्ने भन्दै जंगलमा लगेर साथीको हत्या

स्वर्गद्वारी अपडेट | श्रावण १६ गते २०७९
स्वर्गद्धारी अपडेट,प्यूठान । ट्रक किन्ने भन्दै एक जनाले आफ्नै साथीको हत्या गरेका छन् । पाणिनि गाउँपालिका–२ पोखराथोकका कुलचन्द्र गौतमले मालारानी गाउँपालिकाका–१ का विष्णुबहादुर पाण्डेको नाममा रहेको लु १ ख ६६८१ नम्बरको ६ पांग्रे ट्रक खरिद गर्ने भन्दै जंगलमा लगेर हत्या गरेको प्रहरीले जनाएको छ । गौतमले बुटवलमा पाण्डेसँग १६ लाख रुपैयाँमा ट्रक किन्ने सहमति भएको थियो । त्यसपछि गौतमले साउन ९ गते अर्घाखाँची पोखराथोक घरमा गएर पैसा बुझाउने भन्दै पाण्डेलाई फकाएर ल्याएका थिए । बेलुका सँगै घरमा खाना खुवाएर राति सँगै बसे । अर्काे दिन घर नजिकैको सिद्ध सामुदायिक वनमा कालिज मार्ने र झोलसित भात खाने भन्दै जंगल लगेका थिए र अप्ठयारो ठाउँमा लगेर गौतमले पछाडिबाट पाण्डेलाई फलामको रडले हानेर हत्या गरेको प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए । दुई÷तीन पटक हिर्काएर प्राण त्यागेका पाण्डेलाई भीरबाट धकेलिदिएर गौतम भागेका थिए । पाण्डेको टाउकोमा चोट लागेको अवस्थामा जंगलमा भेटिएको उनले बताए । शवलाई परीक्षणका लागि बुटवल पठाइएको छ । साथीको हत्या गरी फरार रहेका गौतमलाई प्रहरीले नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरिसकेको छ । पाण्डे हराएपछि उनकी छोरी शिला पाण्डेले बुटवल प्रहरीमा खोजतलास गरिदिन निवेदन दिएकी थिइन् । अर्घाखाँची पाणिनिबाट पाण्डे हराएको सूचनाका आधारमा प्रहरीले त्यसतर्फ खोजी गर्दा आइतबार जंगलमा शव भेटाएको थियो । पाण्डे बुटवलको बेल्वास बस्दै आएका थिए । पाण्डे र गौतम मिल्ने साथी थिए । गौतमले प्रहरीलाई दिएको बयान अनुसार रुपन्देहीको सैनामैनाको कलौनीमा घर बनाउँदा ऋणमा डुबेका थिए । बुटवलको मैनाबगरमा सञ्चालन गर्दै आएको मोटर पार्ट्स पसल समेत घाटा भएपछि साथीको ट्रक सित्तैमा हत्याउने र ट्रकबाट आम्दानी गरेर ऋण तिर्ने उद्देश्यले हत्याको योजना बनाएका थिए । मृतक पाण्डेका दाई तेजबहादुर पाण्डेले प्रहरी कार्यालय बुटवलमा किटानीसहित जोहेरी दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्