लुम्बिनको विनियोजन विधेयकमा केके परे प्राथमिकतामा ?
स्वर्गद्धारी दर्पण , प्यूठान । लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक,२०७९ का सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस भएको छ ।
शुक्रबार बसेको प्रदेश सभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेश सरकारको विनियोजन विधेयक,२०७९ का सिद्धान्त र प्राथमिकता प्रदेश सभामा पेस गरेका हुन् ।
प्रदेश सरकारको आर्थिक बर्ष २०७९÷०८० को विनियोजन विधेयकमा समावेश हुने वजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामा कोभिड–१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई गतिशील बनाई प्रदेशका आम नागरिकहरूको जनजिवनलाई सामान्य स्थितिमा पु¥याई नागरिकको सुख र समृद्धिको चाहना पूरा गर्ने नीति,कार्यक्रम र वजेट निर्माण गरि कार्यान्वयन गर्ने उल्लेख छ ।
नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्रको विकासको लक्ष्य, पन्ध्रौं आवधिक योजना,प्रदेशको प्रथम आवधिक योजनाले निर्दिष्ट गरेका लक्ष्य तथा उदेश्य,दीगो विकास लक्ष्यका साथै वर्तमान सरकारले गरेका प्रतिवद्वतालाई वजेट तर्जमाको आधार र मार्गदर्शनको रूपमा लिने मन्त्री खड्काले जानकारी गराए ।
त्यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रदेश राजधानीको भौतिक संरचना निर्माण,कृषि,स्वास्थ्य,शिक्षा र पर्यटन पुर्वाधारलाई प्राथमिकता दिइएको उल्लेख छ ।
प्रदेशले आफ्नो आयको क्षेत्र विस्तार गरि संघीय सरकारको अनुदान उपरको परनिर्भरता घटाउदै जाने नीति अख्तियार गर्ने प्रदेश सरकारको लक्ष रहेको छ ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि शनिबार बस्ने प्रदेश सभाको बैठकमा छलफल हुने जनाइएको छ ।
हिजो बसेको प्रदेश सभाको बैठकमा प्रदेशको सञ्चार माध्यम सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक र प्रदेश प्रहरी सेवा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ ।
प्रदेशको सञ्चार माध्यम सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेश सभा सदस्य चेतनारायण आचार्य र दीपा बिकले सहभागीता जनाएका थिए ।
त्यस्तै प्रदेश प्रहरी सेवा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेश सभा सदस्य भुवनेश्वर चौधरी,इन्द्र प्रसाद खरेल र कुलप्रसाद पोखरेलले सहभागीता जनाएका थिए ।







