समय : ०३:५५ pm | शुक्रबार , मंसिर ११ गते २०८३

भ्याट कार्डबिनै स्वर्गद्वारी महोत्सव सञ्चालन, कर छलीको आशंका

उद्घाटनमा तामझाम, स्थानीय तहको अनुमति र प्रशासनको सुरक्षा व्यवस्था, तर कर कार्यालयबाट व्यापारिक कारोबारका लागि आवश्यक अस्थायी भ्याट कार्ड भने छैन।

स्वर्गद्वारी अपडेट | मंसिर ११ गते २०८३

प्युठान। प्युठानको स्वर्गद्वारी नगरपालिका–४ भिंग्रीमा सञ्चालन भइरहेको दोस्रो स्वर्गद्वारी कृषि तथा सांस्कृतिक पर्यटन व्यापार महोत्सव -२०८३ ले करसम्बन्धी अनिवार्य प्रक्रिया पूरा नगरेको पाइएको छ।व्यापारिक महोत्सव सञ्चालन गरिरहेको स्वर्गभूमि यातायात प्रालि प्युठानले कर कार्यालयबाट अस्थायी भ्याट कार्ड नलिएको खुलेको हो।

महोत्सवको आज औपचारिक उद्घाटन गरिएको छ।स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख टेकप्रसाद भण्डारीले महोत्सवको उद्घाटन गरेका हुन्।नगरपालिकाले महोत्सव सञ्चालनका लागि अनुमति दिएको भए पनि आयोजकले करसम्बन्धी कानुनी प्रक्रिया पूरा नगरेको तथ्यले महोत्सवको वैधानिकतामाथि प्रश्न उठाएको छ।

स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवन्तबहादुर डाँगीले नगर कार्यपालिकाबाट निर्णय गरेर महोत्सव सञ्चालनको अनुमति दिइएको बताए।उनका अनुसार नगरप्रमुख टेकप्रसाद भण्डारीको अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत रूपमा महोत्सव सञ्चालनको अनुमति दिने निर्णय गरेको अधिकृत डाँगीले जानकारी दिए।

तर, महोत्सव सञ्चालनको अनुमति दिने स्थानीय तहले आयोजकले करसम्बन्धी आवश्यक प्रक्रिया पूरा गरे नगरेको विषयमा कति पनि निगरानी भने गरेको छैन।

प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले व्यापारिक महोत्सव सञ्चालन गर्दा सम्बन्धित व्यवसायीको छाता संगठनमार्फत सबै क्षेत्रसँग समन्वय गर्नुपर्ने बताए।संस्थाको विधान र उद्देश्यअनुसार महोत्सव सञ्चालन हुनुपर्ने अध्यक्ष आचार्यको उनको भनाइ छ।

जिल्ला प्रशासन कार्यालय प्युठानका निमित्त प्रमुख दशरथ राईले नगरपालिकाले महोत्सव सञ्चालनको अनुमति दिएको पत्र प्रशासनमा उपलब्ध गराएकाले नागरिकको शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रशासनले आवश्यक अनुमति दिएको बताए।

यता, कर कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा कर अधिकृत उपेन्द्रबहादुर पुनले कुनै पनि व्यापारिक मेला तथा महोत्सव सञ्चालन गर्दा कर कार्यालयबाट अस्थायी पान वा भ्याट कार्ड लिनुपर्ने स्पष्ट पारे। उनका अनुसार स्वर्गभूमि यातायात प्रालि प्युठानले उक्त महोत्सव सञ्चालनका लागि कर कार्यालय तुलसीपुरबाट अस्थायी भ्याट कार्ड लिएको छैन।

कर कार्यालयबाट अनिवार्य रूपमा लिनुपर्ने अस्थायी करसम्बन्धी प्रमाणपत्र नलिई व्यापारिक गतिविधि सञ्चालन भइरहेको अवस्थामा महोत्सवमा हुने कारोबारको कर व्यवस्थापन कसरी भइरहेको छ भन्ने विषयमा समेत प्रश्न उठेको छ।

यस विषयमा स्वर्गभूमि यातायात प्रालिका अध्यक्ष पुरन पुनसँग प्रतिक्रिया लिन स्वर्गद्वारी अपडेटले सम्पर्क गरेको थियो।उनले केही समयपछि कुरा गर्ने भन्दै फोन काटे पनि पुनः सम्पर्क गर्दा उनको मोबाइल स्वीच अफ रहेको थियो।

नगरपालिकाको अनुमति, प्रशासनको सुरक्षा व्यवस्था र भव्य उद्घाटनका बीच सञ्चालन भइरहेको महोत्सवले करसम्बन्धी अनिवार्य प्रक्रिया नै पूरा नगरेको तथ्य सार्वजनिक भएपछि आयोजकको जिम्मेवारी र सम्बन्धित निकायको अनुगमनमाथि प्रश्न उठेको छ।

कानुनमा के छ ?

मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १० (क) तथा मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ७ (क) ले अस्थायी रूपमा सञ्चालन हुने मेला, प्रदर्शनी तथा यस्तै प्रकृतिका कारोबारका लागि अस्थायी भ्याट दर्ता र कर विवरण दाखिला प्रक्रियाको व्यवस्था गरेको छ।उक्त व्यवस्था पालना नगरी करयोग्य कारोबार सञ्चालन भएको पाइएमा सम्बन्धित कर निकायले कानुनअनुसार दर्ता, कर निर्धारण तथा असुली प्रक्रिया अघि बढाउन सक्नेछ।

व्यापारका नाममा हुने कारोबार कानुनी दायराभित्र छ कि छैन भन्ने विषयमा सम्बन्धित कर निकायले निगरानी र आवश्यक छानबिन गर्नुपर्ने देखिन्छ।

यो पनि पढ्नुहोस्