समय : ०४:४६ am | आइतबार , असाेज २४ गते २०८३

लमहीमा चार वटा सवारीसाधन ठोक्किँदा ६ जना घाइते

दुर्घटनापछि चारवटै सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्वर्गद्वारी अपडेट | असाेज २४ गते २०८३

दाङ – दाङको लमही नगरपालिका-१ सुण्डबरीमा चारवटा सवारीसाधन एकआपसमा ठोक्किँदा छ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जना उपचारपछि डिस्चार्ज भएका छन् भने चार जनाको लमही अस्पतालमा उपचार भइरहेको छ।

पूर्वपश्चिम राजमार्गमा शनिबार दिउँसो नेपालगन्जबाट चन्द्रौटातर्फ जाँदै गरेको ग्यास बोकेको भे १ क १८०१ नम्बरको ट्रकले ब्रेक लगाउने क्रममा पछाडिबाट आउँदै गरेको क १ ख ५ नम्बरको ट्रक ठोक्किएको थियो। त्यसपछि सोही दिशाबाट आउँदै गरेका बा.प्र.०६-००६ प ९१८७ नम्बरको मोटरसाइकल र रा ८ प २२९० नम्बरको मोटरसाइकलसमेत ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा क १ ख ५ नम्बरको ट्रक चालक जाजरकोटको कुसे गाउँपालिका-२ डुग्री निवासी ४५ वर्षीय जनक सिंह घाइते भएका छन्। उनको छातीमा भित्री चोट लागेको छ।

त्यस्तै, बा.प्र.०६-००६ प ९१८७ नम्बरको मोटरसाइकल चालक चितवनको माडी नगरपालिका-१ बनकट्टा निवासी २५ वर्षीय मनिष थापा घाइते भएका छन्। उनको दाहिने खुट्टा, गाला र पेटमा भित्री चोट लागेको छ। सोही मोटरसाइकलमा पछाडि सवार पाल्पाको तिनाउ गाउँपालिका-३ झुम्सा निवासी २३ वर्षीय भिसमल थापा मगरको निधारमा चोट लागेको छ। उनीहरू दुवै जना नेपाली सेनाको त्रिपुरा दल गुल्म सुर्खेतमा कार्यरत रहेको र बिदामा रहेको प्रहरीले जनाएको छ। मनिष र भिसमल दुवै उपचारपछि डिस्चार्ज भएका छन्।

यसैगरी, रा ८ प २२९० नम्बरको मोटरसाइकल चालक दाङको गढवा गाउँपालिका-२ कोठरी निवासी २२ वर्षीय विकल्प चौधरीको छाती र दाहिने हातमा चोट लागेको छ। सोही मोटरसाइकलमा सवार २७ वर्षीय अमिर चौधरीको निधारमा चोट लागेको छ भने उनका सात वर्षीय छोरा अमोस चौधरीको अनुहार र दाहिने खुट्टामा चोट लागेको छ। बालक अमोस उपचारपछि डिस्चार्ज भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये चार जनाको अवस्था मध्यम र बालक अमोसको अवस्था सामान्य रहेको छ। घाइतेहरूलाई उपचारका लागि लमही अस्पताल पुर्यारइएको थियो।

दुर्घटनापछि चारवटै सवारीसाधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनास्थलमा अस्थायी प्रहरी पोस्ट नर्तीबाट प्रहरी सहायक निरीक्षक मिलनकुमार घर्ती मगरको कमान्डमा प्रहरी टोली खटिएको थियो।

यो पनि पढ्नुहोस्