समय : ०९:३५ pm | सोमबार , असाेज ५ गते २०८३

कसले फुटाउँछ सडक छेउका ऐना?

लव कुमार अधिकारी | असाेज ४ गते २०८३

प्युठान।बडडाँडा  देखि सिमलचौरसम्म र चकचके देखि चेरनेटासम्मका बिभिन्न ठाउँमा केही समय अघि सडक डिभिजन कार्यालय प्युठानले ऐना (कन्भेक्स मिरर) राखिएको थियो।सवारी चालकको सजिलोका लागि घुम्ती सडकमा राखिएका मध्ये अधिकांस ऐना फुटाइएको छ। 

घुम्ती सडकमा सवारी साधन आएको सहजै देख्न मिल्ने ऐना कतै तोडफोड हुने, कतै पोलसहित हराउने गरेको सडक डिभिजन कार्यालय प्रमुख दिपक सुनारले बताए।यात्रुको सुरक्षाको लागि राखिएको ऐना आफैँ असुरक्षित भएपछि पुनः राख्ने, नराख्नेमा कार्यालय द्विविधामा परेको उनको भनाई छ। 

लाखौं रुपैयाँ खर्च गरेर राखिएको ऐना उचित रेखदेख नहुँदा हराइसकेका छन्। चकचके देखि चेरनेटा सम्म ३ वटा ऐना फुटेका, चेरनेटा देखि बेलुवाको घुम्तीमा ऐना ठड्याउने पोल सहित उखलिएको, बडडाडा देखि सिमलचौर सम्मका  केहि ऐना फुटाइएका छन्। 'घुम्तीमा विपरीत दिशाबाट आएको गाडी देखियोस् र चालकले पूर्व सतर्कता अपनाउन् भनेर घुम्तीमा ऐना राखिएको थियो,’ डिभिजन प्रमुख सुनारले भने।

सार्वजनिक सम्पत्तीको संरक्षमा नागरिकले चासो नदिँदा घुम्तीका ऐना असुरक्षित भएको प्रहरीले जनाएको छ। ऐना फुटाउने, चोरी गर्नेलाई कारबाही गर्ने बताएपनि प्रहरीले पहिचान गर्नै सकेको छैन।

यो पनि पढ्नुहोस्