प्यूठान।प्यूठानका युवा नेता श्रीधर रोका नेतृत्वको टोली कठिन र जोखिमपूर्ण यात्रा पार गर्दै रसुवा जिल्लाका बाढीपीडितको उद्धार तथा राहतका लागि वेत्रावति पुगेका छन्।टोलीले उत्तरगया गाउँपालिका स्थित बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गर्नुका साथै करिब एक लाख रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको हो।
टोलीले उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल र उपाध्यक्ष चमेली गुरुङलाई राहत सामग्री हस्तान्तरण गरेको जनाएको छ।बाढीबाट प्रभावित तथा विस्थापित परिवारको तत्कालीन आवश्यकतालाई ध्यानमा राखेर राहत सामग्री जुटाइएको हो।रोका नेतृत्वको टोलिमा जिबन गौतम, सुरज मगर, सागर पण्डित, प्रकास पौडेल, बिबेक बिस्वकर्मा सहभागी रहेका छन्।
राहत सामग्रीमा जीवनजल, ग्लोभ्स, स्यानिटाइजर, मास्क, सिटामोल, खानेपानी, चाउचाउ, बिस्कुट, नुहाउने तथा लुगा धुने साबुन, ब्रस, कोलगेट र स्याम्पु लगायतका सामग्री रहेका छन् । करिब ५० परिवारलाई पुग्ने गरी सामग्रीको छुट्टाछुट्टै सेट तयार पारेर वितरण गरिएको टोलीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था अवलोकन गरेपछि नेता रोकाले अवस्था निकै हृदयविदारक रहेको बताए।'बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा पुग्दा पीडाको अवस्था निकै भयावह देखिएको उनको भनाइ छ।' उनले भने,' 'घटनास्थलमा पुग्दा अवस्था निकै हृदयविदारक देखियो, सबैमा निरासा छ।' 'प्रयाप्त मात्रामा सुरक्षाकर्मीको उपस्थिति छैन, लासहरु उठ्न सकेको छैन।' बाँचेकाहरूको व्यवस्थापन समेत सहज रूपमा हुन नसकेको - रोकाले भने ।
उनका अनुसार विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु सबैको साझा दायित्व भएकाले आफूहरूको टोली जोखिम मोलेर भए पनि प्रभावित क्षेत्रमा पुगेको हो।बाढीका कारण घरबार गुमाएका तथा प्रभावित परिवारलाई खाद्यान्न, खानेपानी, स्वास्थ्य सामग्री र दैनिक उपभोग्य वस्तुको तत्काल आवश्यकता देखिएको टोलीले जनाएको छ।राहतसँगै प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्ने र आवश्यक सहयोगका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले स्थलगत अनुगमन गरिएको रोकाले बताए।
राहत सामग्री बुझ्दै उत्तरगया गाउँपालिकाका अध्यक्ष अर्याल र उपाध्यक्ष गुरुङले विपद्को समयमा सहयोग लिएर प्रभावित क्षेत्रमा पुगेकोमा टोलीप्रति आभार व्यक्त गरेका थिए। रोका माण्डवी गाउँपालिकाका संस्थापक अध्यक्ष समेत हुन् ।
टोलीले प्रभावित क्षेत्रको अवस्था बारे थप जानकारी संकलन गर्दै आगामी दिनमा आवश्यक सहयोगका लागि पहल गर्ने जनाएको छ ।








