प्यूठान । भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्यूठान उद्योग वाणिज्य संघले ४ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ।
संघले बाढीपीडितको राहतका लागि ४ लाख ३ हजार ९ सय ३३ रुपैयाँ सहयोग गरेको हो।नेपाल उद्योग वाणिज्य महासंघको परिपत्रअनुसार संघले उक्त रकम महासंघले स्थापना गरेको बाढीपीडित सहायता कोषमा जम्मा हुने गरी केन्द्रीय कार्यालयमा पठाएको जनाएको छ।
प्यूठानका उद्योगी तथा व्यवसायीबाट संकलन गरिएको रकम बाढीबाट प्रभावित नागरिकको राहत तथा सहयोगमा प्रयोग हुने गरी पठाइएको संघका अध्यक्ष सन्देश आचार्यले बताए।उनका अनुसार विपद्को समयमा उद्योगी तथा व्यवसायीको सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग रकम संकलन गरी महासंघमार्फत बाढीपीडितसम्म पुर्याउने व्यवस्था गरिएको हो।'बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत र पुनःस्थापनामा केही सहयोग पुगोस् भन्ने उद्देश्यले रकम पठाएका हौँ'।- अध्यक्ष आचार्यले भने।
भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि प्युठानका स्थानीय तह, विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम जारी छ।








