बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ। प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा मन्त्रिपरिषद् बिस्तारका लागी भोलि अर्थात मंगलवार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको सपथको तयारि गरेको जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयले भदौ ८ गते सोमबार जारी गरेको पत्रअनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् बिस्तार गर्न लागेको पत्रमा उल्लेख छ ।
नेकपा ,जसपा सहितको एमाले नेतृत्वको मन्त्रिपरिषदमा चेतनारायण आचार्य मुख्यमन्त्री दोहोरिएका छन । नेकपाबाट द्विपेन्द्र कुमार पुन को नेतृत्वमा ३ जना सरकारमा सहभागी हुने नेकपाका एक नेताले बताए । रोल्पाका पुनलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिएको छ भने नेकपाकै प्रमुख सचेतक दाङका ईन्द्रजीत थारुलाई अर्थ मन्त्रालय र बर्दियाकि कृष्ण कुस्मा थारुलाई कृषि भूमि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएको छ ।
यसैगरी मन्त्रिपरिषद्मा रहेका तुलसीप्रसाद चौधरीलाई वन, वातावरण तथा पर्यटन मन्त्रालय, रमजीप्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोषकुमार पाण्डेयलाई शहरी विकास, ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र भण्डारीलाल अहिरलाई आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी तोकिएको छ। यी मन्त्रीहरूलाई भने मन्त्रालयको जिम्मेवारीसहित निरन्तरता दिइएको छ। लुम्बिनीमा मुख्यमन्त्री सहित नौ जनाको मन्त्रीमण्डल बन्ने छ । प्रदेश प्रमुखको कार्यालयका सचिव राजेश गौतमद्वारा हस्ताक्षरित पत्र लुम्बिनी प्रदेशसभा सचिवालयलाई पठाइएको छ।








