बुटवल । प्युठानको स्वर्गदारी नगरपालिका–९ माडी खोलाको भिन्नभिन्न स्थानमा फेला परेका पाँचमध्ये तीन शव रोल्पा पहिरोमा परेकाहरूको रहेको खुलेको छ ।
रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबारामा गएराति गएको पहिरोमा पुरिएर १० जना वेपत्ता भएका थिए । पहिरोमा परेर मृत्यु भएका ७१ वर्षीया मनरखी पुन मगरको शव भने बुधबार नै फेला परेको थियो ।
उक्त पहिरोमा परी बेपत्ता हुनेमा ४० वर्षीया जुनकुमारी पुन मगर, नौ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर थिए । बेपत्ता हुने अन्यमा ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीय मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर थिए ।
बिहीबार प्युठानमा फेला परेका शवमध्ये तीनजनाको शव सोेही पहिरोमा परेकाहरूको रहेको पुष्टि भएको प्युठान प्रहरी प्रमुख डीएसपी नरहरि अधिकारीले जानकारी दिए ।
उनले भने, “पाँचवटा शवमध्ये तीन शव रोल्पा पहिरोकै रहेको पुष्टि भएको छ । थप दुईवटा शवको भने सनाखत हुन बाँकी छ ।”







