समय : ११:५० am | बिहिबार , श्रावण २८ गते २०८३

रोल्पामा पहिरो अपडेट : २ जनाको मृत्यु, १० जना बेपत्ता

सुरक्षाकर्मीसँगै स्थानीय समुदायसमेत खोजी तथा उद्धारमा परिचालन भएका छन् ।

स्वर्गद्वारी अपडेट | श्रावण २८ गते २०८३

दाङ- अविरल वर्षापछि खसेको पहिरोले घर तथा गोठ पुरिँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । घटनापछि १० जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

बुधबार राति करिब पौने ९ बजे स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठमा पहिरो खसेर क्षति पुगेको हो । पहिरोमा परी थबाङ–५ बोटलबारा निवासी १८ वर्षीया शान्ती पुन मगर र करिब ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय उवाले जनाएको छ ।

पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर गम्भीर घाइते भएका छन् । उनीहरूको उपचारका लागि आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोमा परी १० जना सम्पर्कविहीन भएपछि बिहीबार बिहानैदेखि खोजी तथा उद्धार कार्य जारी राखिएको छ । घटनास्थलमा तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसहित जिल्लाका सुरक्षा प्रमुखहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्यको समन्वय गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी पञ्चबहादुर बाकुका अनुसार पहिरो घटनास्थलभन्दा माथिको पहाडको चुचुरोबाट खसेको हो । पहिरोले बाटोसहित ६–७ वटा घर तथा संरचना बगाएर उवा खोलातर्फ पुर्‍याएको छ । सुरक्षाकर्मीसँगै स्थानीय समुदायसमेत खोजी तथा उद्धारमा परिचालन भएका छन् ।

यो पनि पढ्नुहोस्