समय : ११:५१ pm | मङ्गलबार , असार २३ गते २०८३

लुम्बिनीमा निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन हुने

स्वर्गद्वारी अपडेट | असार २३ गते २०८३

दाङ।लुम्बिनी प्रदेशमा निर्माण सामग्रीको गुणस्तर परीक्षणलाई व्यवस्थित र विश्वसनीय बनाउन प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण व्यवसायी महासंघ, लुम्बिनी प्रदेशबीच साझेदारीमा प्रयोगशाला सञ्चालन गर्ने सहमति भएको छ।

प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी) मा मंगलबार आयोजित कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ई. छबिराज पोखरेल र महासंघका अध्यक्ष बलिभद्र रानाले समझदारीपत्रमा हस्ताक्षर गरेको हो।

समझदारीअनुसार सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा कम्पनी स्थापना गरी निर्माण सामग्री गुणस्तर परीक्षण प्रयोगशाला सञ्चालन गरिनेछ। प्रयोगशालाले निर्माण सामग्रीको स्रोत पहिचान, गुणस्तर परीक्षण, उत्खनन, व्यवस्थापन तथा बिक्री वितरणलाई वैज्ञानिक, व्यवस्थित र व्यावसायिक बनाउनेछ।

कम्पनी स्थापनाका लागि कुल लगानीमध्ये ६७ प्रतिशत प्रदेश पूर्वाधार विकास प्राधिकरणले र ३३ प्रतिशत निर्माण व्यवसायी महासंघ, लुम्बिनी प्रदेशले व्यहोर्ने छन्। प्राधिकरणले स्रोत अध्ययन, गुणस्तर परीक्षण व्यवस्था, कानुनी समन्वय, कम्पनी दर्ता र जग्गा व्यवस्थापनको काम गर्नेछ भने महासंघले लगानी, उत्खनन व्यवस्थापन, बजारीकरण र सेवा उपयोगमा सहजीकरण गर्नेछ।

प्रदेश सरकारले यस सहकार्यबाट निर्माण सामग्रीको गुणस्तर सुनिश्चित भई प्रदेशका पूर्वाधार निर्माण आयोजनाको गुणस्तर अभिवृद्धि हुने अपेक्षा गरेको छ।

यो पनि पढ्नुहोस्