समय : ०४:२५ am | शनिबार , भाद्र १३ गते २०८२

प्युठानका स्थानीय तहको कृषि क्षेत्रमा प्राथमिकता

किसान, सरकारी, गैरसरकारी र निजि क्षेत्रबाट समेत कृषि विकासका लागि प्रयास भईरहेको छ तर सन्तोषजनक नतिजा प्राप्त भएको छैन।

लव कुमार अधिकारी | श्रावण २२ गते २०८२

प्युठान।प्युठानका स्थानीय तहले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छन्।जिल्लाका स्थानीय तहले कृषकलाई कृषिमा प्रोत्साहन गर्ने उद्देश्यसहित कृषि  क्षेत्रलाई प्राथमिकता राखेर आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बनाएका छन्। स्थानीय तहले किसान पेन्सन देखी उत्पादनमा आधारित अनुदान कार्यक्रम र आयातलाई घटाउँदै पालिकाभित्र उत्पादित कृषिजन्य बस्तुलाई  एकत्रित गरी आफ्नै उत्पादनलाई प्रोत्साहन गर्ने देखि नगदे बालीलाई सङ्कलन केन्द्रमार्फत् बजारीकरण गर्ने व्यवस्था मिलाउने उल्लेख गरेका छन्।

प्युठानका ३ स्थानीय तहहरुले कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास साझेदारी परियोजना हेफर प्रोजेक्ट नेपाल मार्फत २ करोड ४५ लाख रकम विनियोजन गरेको छ।किसान, सरकारी, गैरसरकारी र निजि क्षेत्रबाट समेत कृषि विकासका लागि प्रयास भईरहेको छ तर सन्तोषजनक नतिजा प्राप्त भएको छैन।

प्युठान नगरपालिकाले तरकारी तथा दुग्ध उत्पादक कृषकहरुको लागि किसान पेन्सन कार्यक्रम देखी उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गरेको छ।दूध व्यवसायलाई प्रोत्साहन गर्दै प्रतिलिटर रु १० रुपैंयाँका दरले दिने अनुदानलाई निरन्तरता दिएको छ।बाँझो जग्गाको समुचित उपयोग र आय आर्जनका लागि बेसार खेति र बिभिन्न फलफुल प्रोत्साहन गरिने उल्लेख गरेको छ।कृषिमा श्रम तथा लागत न्यूनीकरण गर्न नवीनतम कृषि प्रविधिको प्रयोग गरी कृषिको आधुनिकीकरण व्यवसायीकरण र यान्त्रिकरणमार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न कृषकलाई अनुदानमा उपकरण वितरण गरिने प्युठान नगरपालिका कृषि शाखा प्रमुख सिर्जना सेढाईले बताईन।कृषक एवं कृषि प्राविधिकलाई तालिम, उन्नत किसिमको बीउबिजन र प्रविधि हस्तान्तरणको नीति नगरपालिकाको लागि आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि तथा पशुपंक्षी शाखामा ९० लाख रकम बिनियोजन गरेको छ।

माण्डवी गाउँपालिकाले कृषि र पशुपालनको क्षेत्रमा विविधिकरण, आधुनिकिकरण, व्यावसायीकरण, गरी उत्पादन र उपादकत्व वृद्धि गर्न यस क्षेत्रमा युवाहरुको परिचालन मार्फत उत्पादन र उपादकत्व वृद्धि गर्ने क्रियाकलाप सञ्चालन गरी रोजगारी सृजना गर्ने उल्लेख गरेको छ।कृषक एवं कृषि प्राविधिकलाई तालिम, उन्नत किसिमको बीउबिजन र प्रविधि हस्तान्तरणको नीति लिइएको माण्डवी गाउँपालिकाको कृषि शाखा प्रमुख सनत केसीले बताए।

गाउँपालिकालाई मासुमा आत्मनिभर बनाउने उद्देश्यसहित वडा ५ लाई बाख्रा पकेट क्षेत्र   गुणस्तरीय मासु बितरणका लागि मासु व्यवसायीहरुलाई अनुदान स्वरूप बिभिन्न उपकरणहरु प्रदान गरिने शाखा प्रमुख केसीले बताए।स्थानीय जातका फलफूलहरुको संरक्षण गर्दै पालिकाभर नै सम्भाव्यता अध्ययन गरी आँप, सुन्तला, कागती, केरा, कागती,सुन्तला लगायतका फलफूल खेतीलाई व्यावसायीकरण गर्ने नीति लिइएको केसीको भनाई।गाउँपालिकाले खाद्यान्न वाली,मसला बाली र तरकारी बाली गरि कृषि शाखामा करिव ६३ लाख बजेट बिनियोजन गरेको छ।त्यस्तै पशु सेवा शाखा मार्फत औषधि खरिद, पशु स्वाथ्य शिविर, कृषक अनुदान, किसानसँग गाउँ सरकार लगायतका कार्यक्रममा २९ लाख ५० हजार बजेट विनियोजन गरिएको छ।

नौबहिनी गाउँपालिकाले कृषिलाई उत्पादनमुखी बनाई स्थानिय कृषकलाई उत्पादनसँग आवद्ध गरी परम्परागत खेती प्रणालीलाई विस्तापन गरी किसानहरुलाई व्यवसायिक बनाउने उल्लेख गरेको छ। पालिकाले रैथाने बालीहरु कोदो, मकै, भट्टमास, गहुँ, जौ, मार्सि धान, फापर जस्ता स्थानिय रुपमा उत्पादित खाद्यवस्तुको संरक्षण र प्रवर्द्धन गर्नका लागि विशेष कार्यक्रम ल्याइएको उल्लेख गरेको छ। एक बडा एक कृषि पकेट क्षेत्रको अवधारणा अगाडी बढाइने छ।वडा नं १ मा आलु र रायो खेति, वडा नं. २ अदुवा खेति, वडा नं. ३ कोदो अलैची र आलु खेति, वडा नं.४ अलैची खेति र फलफुल, वडा नं. ५ मकै र कोदो खेति, वडा नं. ६ सुन्तुला तथा मसलाबाली तथा चौमासे सिमी साथै मसलाजन्य खेती अदुवा हलेदो र खुर्सानी खेति, वडा नं. ७ सुन्तला र टिमुर खेति र वडा नं. ८ टिमुर खेति र मसलाजन्य पकेट क्षेत्र केन्द्रित वजेट विनियोजन गरेको छ।

किसानद्वारा उत्पादित खाद्य वालीहरुको संरक्षण गर्नुको साथै उत्पादनको आधारमा संकलन केन्द्र स्थापना गरि कार्वान्वयन गर्ने उल्लेख गरेको छ।पालिकाले सिंचाई प्रणाली आसपासका जग्गाहरु बाँझो राख नपाउने व्यवस्थालाई कार्ययोजना सहित गर्ने, खाली जमिनमा केरा, मकै, घाँस, फूल, नर्सरी संचालन लगायतका कृषिजन्य क्रियाकलाप संचालनका लागि प्रोत्साहित गरिने।पालिकाले बीउ बैङ्क स्थापना गरी संचालनमा गर्ने। साथै स्थानिय रैथाने बीउ संरक्षण हुने गरी कार्यक्रम संचालन गरिने नौबहिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताए।गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि तथा पशुपंक्षी शाखामा ६८ लाख रकम बिनियोजन गरेको छ।

सरुमारानी गाउँपालिकाले  रैथाने बालि विस्तार, महमा उत्पादनमा आधारिक अनुदान,मौरी पकेट कार्यक्रम अन्तर्गत घार वितरण,बिभिन्न सामाग्री वितरण र तालिम संचालन गर्ने उल्लेख गरेको छ।रैथाले बालि प्रवर्धन कार्यक्रम अन्तर्गत वडा न ५ राङवांङमा कोदो बालि बिस्तार,पालिकामा उत्पादन भएका कृषि उपजहरुलाई बजारीकरणको लागि स्टल सहयोग गर्ने।उत्पादनमा आधारित अनुदानमा कार्यक्रम अन्तर्गत दुध र खसी बोका अनुदान, पालिकामा छनौट कृषकहरुलाई मिनीटिलर, मिल लगायतका यन्त्रीकिकरण सहयोग गर्ने कार्यक्रम रहेको सरुमारानी गाउँपालिकाको कृषि शाखा प्रमुख इश्वर जिसीले बताए।

व्यावसायिक मौरीपालन कार्यक्रमलाई प्रोत्साहन स्वरुप मौरीघार वितरण गरिनुका साथै उत्पादित मह लगायत अन्य स्थानीय उत्पादनको ब्रान्डिङ गरी विक्री वितरण गर्ने कार्यलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि शाखामा संघ सरकारबाट १८ लाख ४ हजार, प्रदेश सरकारबाट ४ लाख  र स्थानीय सरकारबाट ३१ लाख ५० हजार रकम बिनियोजन गरेको छ।

त्यस्तै पशुसेवा शाखामा संघ सरकारबाट २ लाख २० हजार, सरुमारानी कृषि तथा पशुपंक्षी विकास स्रोत केन्द्रबाट व्यवस्थापन तथा संचालन गर्न २३ लाख र स्थानीय सरकारबाट ३५ लाख ५० हजार बजेट विनियोजन गरेको पालिकाको कृषि शाखा प्रमुख केसीले जानकारी दिए।सरुमारानी गाउँपालिकाले कृषि तथा पशुपंक्षी शाखाबाट  १ करोड १४ लाख ६० हजार रुपैंया बजेट बिनियोजन गरेको छ।सरुमारानी  गाउँपालिकाले कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास साझेदारी परियोजना हेफर प्रोजेक्ट नेपाल मार्फत ७५ लाख रकम विनियोजन गरेको छ।

मल्लरानी गाउँपालिकाले अगुवा कृषकलाई भ्रमण सिकाइ आदानप्रदान कार्यक्रम, रैथाने वाली संरक्षक गर्ने, उत्पादनमा आधारित अनुदान कार्यक्रम, आकस्मिक बाली संरक्षण कार्यक्रम, कृषि उत्पादन विक्री प्रोत्साहन कार्यक्रम प्राथमिकता राखेको उल्लेख गरेको छ।त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा राखेका कार्यक्रमहरु वाली उपचार शिविर घरदैलो उपचार सेवा, कृषक संजाल गठन पुर्नगठन तथा परिचालन गर्ने, व्यावसायिक कृषकलाई कम्पोष्ट मल निर्माण तथा व्यवसायिक खेती सम्वन्धी तालिम र आवश्क सामाग्री सहयोग,माहुरीपालन प्रवर्द्धन कार्यक्रमहरु यस आर्थिक वर्षमा समेटिको मल्लरानी गाउँपालिकाका कृषि शाखा प्रमुख मोति आचार्यले बताए।गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि शाखामा १८ लाख, संघ सरकारबाट १८ लाख ५४ हजार बजेट बिनियोजन गरेको शाखा प्रमुख आचार्यले जानकारी दिए।मकै बीउ उत्पादन कार्यक्रम, किसान सुचीकरण कार्यक्रम, कृषि, पशुपन्छी तथा मत्स्य तथ्याकं अध्यावधिक कार्यक्रम,आ.व. २०८१/८२ मा स्थापना भएका पकेट विकास कार्यक्रमको निरन्तरता नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।

झिमरुक गाउँपालिकाले एक वडा एक पकेट उत्पादन क्षेत्र जसमध्ये वडा ३ लाई आलु पकेट क्षेत्र, वडा ५ र ७ लाई सुन्तला पकेट क्षेत्र  नीति तथा कार्यक्रममा समेटिएको छ।कृषक तालिम, च्याउ खेति र बेमौसमी तरकारी खेति तालिम, कृषक पाठशाला संचालन, कृषिहाट बजार केन्द्र संचालन, कृषि फर्म व्यवस्थान गर्ने र  आर्थिक वर्ष २०८१/०८२ मा भएका कार्यक्रमहरु निरन्तरता दिने झिमरुक गाउँपालिकाका कृषि शाखा प्रमुख तिर्सना जिसीले बताईन।

त्यस्तै किसान सूचीकरण, औद्योगिक प्रयोजनको लागि व्यवसायिक आलु उत्पादन, कृषि पशुपंक्षी तथा मत्स्य तथ्यांक संकलन कार्यक्रम, उन्नत बिउ बितरकलाई प्रोत्साहन अनुदान, मध्यपहाडी मकैबालि प्रवर्द्धन कार्यक्रम र पकेट विकास कार्यक्रम निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।झिमरुक गाउँपालिकाले कृषि क्षेत्रमा संघ र स्थानीय तहले ४८ लाख २५ हजार रकम बजेट विनियोजन गरेको शाखा प्रमुख जिसीले जानकारी दिईन।

ऐरावति गाउँपालिकाले संघ सरकारको कार्यक्रम निरन्तरता दिंदै किसान सूचीकरण,मकै पकेट कार्यक्रम र खाद्यन्न बालि उन्नत बिउ बितरण गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ।आर्थिक वर्ष २०८१/०८२ मा भएको कार्यक्रमलाई निरन्तरता दिंदै कृषि क्षेत्रमा नौला कार्यक्रम नसमेटिएको ऐरावती गाउँपालिकाका कृषि शाखा प्रमुख प्रदिप ज्ञवालीले बताए।कृषि क्षेत्रमा संघ र स्थानीय तह गरि ३२ लाख रकम विनियोजन गरेको शाखा प्रमुख ज्ञवालीले जानकारी दिए।ऐरावती गाउँपालिकाले कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास साझेदारी परियोजना हेफर प्रोजेक्ट नेपाल मार्फत ७० लाख रकम  विनियोजन गरेको छ ।

गौमुखी गाउँपालिकाले कृषि क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र यान्त्रिकिकरण गर्दै आन्तरिक उत्पादनलाई वृद्धि गर्दै आत्मनिर्भरता तर्फ उन्मुक्त हुने नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न निर्धारित योजना र कार्यक्रमहरुमा वजेट विनियोजन गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम उल्लेख गरेको छ।

एक घर एक फलफूलको बोटू अभियान संचालन गर्ने, एक घर एक करेसाबारी कार्यक्रम, वाली तथा पशुविमा, स्थानीय उत्पादनको बजारीकरणका लागि कृषि हाटबजार र जिल्लाको प्रमुख व्यापारीक केन्द्र बिजुवारमा कृषि उपज बिक्री केन्द्र स्थापनाका लागि  बजेट बिनियोजन गरेको छ।

त्यस्तै किसानलाई उत्पादनका आधारमा अनुदान दिने, कोदो, फापर लगायतका रैथाने बालीहरुको संरक्षण एवं प्रवर्द्धन, पशुजन्य उत्पादनमा वृद्धिका लागि भकारो सुधार कार्यक्रम छ भने गाउँपालिकाका भेडापालक किसानहरुलाई भेडीगोठालोका लागि अनुदानको व्यवस्था सहित भेडा पर्वर्धन कार्यक्रम संचालन गर्न बजेट छुट्याएको छ।

गाउँपालिकामा भएका १ सय ६० कृषक सँग प्राविधिक कार्यक्रम मार्फत कृषकको खेतबारीमा कृषि तथा पशुसेवा प्राविधिकहरु पुगेर भ्याक्सिनेसन, पशु बाझोपन निवारण, आहारा व्यवस्थापन, माटो परिक्षण, बाली तथा पशु उपचार, पशुहरुमा कृत्रिम गर्भाधान, परजीवी एवं ढुसी नियन्त्रण लगायतका कृषि तथा पशुपन्छी सम्बन्धि सेवाहरुलाई प्रभावकारी बनाउन आवस्यक बजेट छुट्याएको छ।आर्थिक वर्ष २०८२/०८३ मा  गौमुखी गाउँपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउने लगायतका कृषि र पशुपन्छी विकासका क्षेत्रमा ५० लाख बजेट बिनियोजन गरेको छ।

स्वर्गद्वारी नगरपालिकाले कृषिउपज बिक्री वितरणका लागि हाटबजार संचालन गर्ने, कृषिमा घरेलु तथा स्थानीय प्रविधिलाई परिमार्जन गरी साझेदारी संस्था मार्फत नवीनतम् प्रविधि, यान्त्रिकीकरण, कृषि क्षेत्रको उत्पादनलाई बजारीकरण गर्ने, विउविजन अनुदान तथा कोष स्थापना गर्ने उल्लेख गरेको छ।पशु सेवा तर्फ वडा स्तरीय पशुपालन तालिम, भैसीको दुध उत्पादन तथा प्रोत्साहनका लागि सुत्केरी भैसी भत्ता कार्यक्रम,पशु उपचार घुम्ती सेवा,पशु उपचार कार्यक्रम/औषधि खरिद गर्ने,कृषक समूह परिचालन गर्ने जस्ता कार्यक्रमको १० लाख रकम बिनियोजन गरेको स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव राज भट्टराईले बताए।

पालिकाबाट कृषि विकाश शाखामा ५ लाख र संघ सरकारबाट ४१ लाख रकम बिनियोजन गरेको उल्लेख गरेको छ।साना पशुको लागि खोर निर्माण तथा सुधार,भकारो निर्माण तथा सुधार, तरकारी टनेल, थोपा सिंचाई, स्प्रे ट्यांकी सहयोग, तरकारी मल्चिंग प्लास्टिक सहयोग र क्यारेट सहयोग जस्ता नीति तथा कार्यक्रममा समेटिएको छ।संघ सरकारका कार्यक्रम अन्तर्गत मध्ये किसान सूचीकरण,पहाडी मकै बालि प्रबर्द्धन ,उन्नत बिउ बितरण प्रोत्साहन, खाद्यान्न बालि बीउ उपयोग अनुगमन निरिक्षण लगायतमा ४१ लाख रकम बिनियोजन गरेको छ।                     

नगरपालिकाले कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता विकास साझेदारी परियोजना हेफर प्रोजेक्ट नेपाल मार्फत १ करोड रकम  विनियोजन गरेको छ।

यो पनि पढ्नुहोस्