१० असार,प्युठान।प्युठानको माण्डवी गाउँपालिकामा रहेको दुई वटा लघुवित्तको साईन बोर्ड हटाई सडकमा जलाएका छन्।
नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल प्युठानले दुई वटा लघुवित्त वित्तिय संस्थाको कार्यालयमा तालाबन्दी गरेको छ । युवा संगठन नेपाल प्युठानले स्वावलम्वन लघुवित्त संस्था र उन्नति सहकार्य लघुवित्त संस्थाको कार्यालयमा तालाबन्दी गरेको हो ।
आइतबार प्युठानको जस्पुरस्थित दुबै संस्थाको शाखा कार्यालयमा तालाबन्दी गरेको हो । लघुवित्तले चर्को व्याज लिएर जनतालाई दुःख दिएको, समयमै साँवा व्याज भुक्तानी नगरेको भन्दै अपाच्य गालिगलौज गरेको भन्दै नेकपा निकट युवा संगठनले कारबाही स्वरुप तालाबन्दी गरेको युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बिरवल केसी बताए । साथै संगठनले लघुवित्तका बोर्डहरुसमेत निकालेर जलाएको जिल्ला संयोजक मुक्ति पोख्रेलको भनाई छ ।
नेकपाले यसअघि पनि साँफेबगरमा रहेका एनएमवि लघुवित्तिय संस्था लि र छिमेक बैंक लघुवित्तिय संस्था लिमा तालाबन्दी गरेको थियो । नेकपाले बैंक तथा वित्तिय संस्थाहरुको चर्को व्याजदर र मिटर व्याजीका विरुद्धमा देश भर खबरदारी अभियान चलाइरहेको छ ।
यसअघि नेकपाले रुपन्देही र झापामा मिटरव्याजीका घरहरु कब्जा गरेर पीडितको पक्षमा संघर्ष गरेको थियो ।