प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै : कांग्रेसले के गर्ला ?
स्वर्गद्वारी अपडेट
पौष २६ गते २०७९
8:37 AM
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्युठान , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गएको १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । संसद् बैठक बिहान ११ बजे बस्दै छ । माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी तथा तीन जना स्वतन्त्र सांसदको समर्थनमा उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।यसैबीच, प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिनुभएको छ । हिजो बेलुका भएको भेटमा कांग्रेस सभापति देउवाले पार्टीमा छलफल गरेर मत दिने आश्वासन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सभापति देउवाले विश्वासको मत दिने तयारी गरेपछि कांग्रेसभित्र विवाद देखिएको छ ।विश्वासको मत दिने कि नदिने भन्नेमा छलफल गर्न देउवाले संसदीय दलको बैठक बोलाउनु भएको छ । बिहान ९ बजे बस्ने बैठकले यसबारे औपचारिक निर्णय गर्ने कांग्रेस नेताहरुले बताएका छन् । देउवाले प्रधानमन्त्री दिन नमान्दा कांग्रेस नेतृत्वको गठबन्धन छोडेर प्रचण्डले एमालेसँग सहकार्य गर्नु भएको थियो ।सत्ता गठबन्धन दलले प्रतिपक्षी दलसँग पनि विश्वासको मत माग्ने निर्णय गरेअनुसार प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न उहाँको निवास धुम्बाराही जानुभएको थियो । अहिलेसम्म सत्तारूढ दलबाट १ सय ६९ सांसदको समर्थन छ । गएको १० गते तत्कालीन पाँच दलीय सत्ता गठबन्धन त्यागेर एमालेसँग मिलेपछि पहिलो पटक प्रचण्ड र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको हो ।