स्वर्गद्वारी अपडेट समचार डेक्स । रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिका २ निवासी १५ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी श्यामकुमार सारू मगरले जानकारी दिनुभएको छ । यस्तै घाइते हुनेहरुमा चालक सल्यानको कपुरकोट गाउँपालिका ६ रैतेखोला का २१ वर्षीय दिपक पुन, रोल्पा गंगादेव २ ओईलामका १७ वर्षीय तेज कुमार डाँगी, सोही ठाउँका १५ वर्षीय निम वहादुर वली, गंगादेव ६ का ४२ वर्षीय मानसिंह वली, ६० वर्षीय कल वहादुर वली, ५० वर्षीया महिमा वली, १८ वर्षीय रमेश राना, ४७ वर्षीय प्रेम वहादुर वली र १५ वर्षीय तेज वहादुर वली रहेको डीएसपी मगरले बताउनुभएको छ ।दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका ६ राँकको ताप्लाका लागि हिडेको लु १ ज ४७५५ नम्बरको जिप गंगादेव गाउँपालिका २ हेमुनखोलामा हिजो आइतबार बेलुकी करिब ६ बजेको समयमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते मध्य ४ जनालाई थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ भने एकजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र अन्य घाइते उपचार पछि डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ । साथै डिस्चार्ज पछि चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।