श्रवण बस्नेत/लमही।‘प्लास्टिक प्रदूषण न्यूनीकरण: हाम्रो दायित्व’ भन्ने मुख्य नारासहित लमही नगरपालिकाले बिहिबार एक विशेष र सन्देशमूलक कार्यक्रमको आयोजना गर्दै विश्व वातावरण दिवस मनाएको छ।नगरपालिकाले वातावरण संरक्षणप्रति जनचेतना फैलाउने उद्देश्यले फोहोर उठाउने दौड प्रतियोगिता आयोजना गरेको लमही नगरपालिका प्रमुख जोगराज चौधरीले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले वातावरण संरक्षण केवल सरकारको नभई प्रत्येक नागरिकको दायित्व भएको उल्लेख गर्दै यस्ता रचनात्मक कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे।वातावरण संरक्षणको क्षेत्रमा नेपालले अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीय स्तरमा विभिन्न नीति, योजना तथा कार्यक्रमहरू निर्माण गरी तिनको कार्यान्वयनका लागि आवश्यक कानुन र संस्थागत संरचनाहरू समेत निर्माण भएर कार्यान्यवन भएको नगर प्रमुख चौधरीको भनाई छ ।
त्यस्तै नगर उपप्रमुख लक्ष्मी योगीले हरेक परिवारले उत्सर्जन गर्ने कार्बन र अन्य हरितगृह ग्यासहरू कम गरेमा पृथ्वीको पर्यावरण थप बिग्रनबाट रोक्न सकिने र मानव अस्तित्व सहज रूपले चलिरहने आशा गर्न सकिने बताईन।मानव क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिकले चेतावनी दिएकोले सबै समयमा सतर्क रहनु पर्ने विचार व्यक्त गरिन ।
डिभिजन वन कार्यालय दाङ ( देउखुरी ) का सिनियर डिभिजनल वन अधिकृत महेन्द्रराज वाग्लेले वातावरण सफा र प्रदुषण मुक्त राख्न कागजको झोला, कपडाका झोला प्रयोग गर्न सबैलाई उत्प्रेरित गर्नु पर्ने बताए । हरेका घर घर बाट निस्किएका गल्ने वा नगल्ने फोहोरलाई निश्चित मूल्य निर्धारण गरि खरिद गर्ने खालको योजना ल्याउन सके नगरपालिकालाई फाइदा हुने बताए । जनताको घरबाट सिर्जित फोहोरलाई व्यवस्थापन गर्न दिनहुँ जसो नगरपालिकाले खरिद गरि पुनरुत्पादनका लागि कुनै कम्पनीलाई जिम्मेवारी दिनेहो भने केहि हदसम्म प्रदुषणलाई घटाउन सकिन्छ’- वाग्लेले भने ।
दौड प्रतियोगितामा नगर क्षेत्रका विद्यालय, युवा समूह, सामाजिक संघ–संस्थाका प्रतिनिधिहरू, तथा नगरवासी गरि ८ वटा समूहले भाग लिएको थियो।सहभागीहरूले नगर क्षेत्रका विभिन्न स्थानबाट प्लास्टिकजन्य तथा अन्य फोहोर उठाउँदै निश्चित दूरीसम्म अर्थात नगरपालिकाको कार्यालय सम्म दौडनु पर्यो।
प्लास्टिक प्रदूषण न्यूनीकरण, नगर सरसफाइ, र स्थानीय बासिन्दामा वातावरणीय चेतना फैलाउने उदेश्य रहेको लमही नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाको भनाई छ । सहभागीहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्दै नगरपालिकाले आगामी दिनमा पनि यस्ता सचेतनामूलक गतिविधि निरन्तर गर्ने प्रतिबद्धता जनाएको छ।
विश्व वातावरण दिवसका अवसरमा यस्तो किसिमको अनौठो प्रतियोगिता आयोजना गरेर लमही नगरपालिकाले “काम गरेर देखाऔं” भन्ने दृष्टिकोणलाई व्यवहारमा उतारेको देखिएको छ । फोहोर उठाउँदै दौडने यो अभियानले बालबालिका, युवाहरू, तथा वृद्धवृद्धामा समेत वातावरणप्रतिको जिम्मेवारी र चेतनालाई गहिरो बनाएको छ ।
देउखुरी यूवा क्लव प्रथम
फोहोर उठाउँदै दौड प्रतियोगितामा देउखुरी यूवा क्लव प्रथम भएको छ । क्लवले १ घन्टाको समय अगावै १७ किलो फोहोर संकलन गर्न सफल भएको थियो । त्यसैगरी वडा प्रहरी कार्यालय लमहीले १२ किलो ८ सय ग्राम फोहोर संकलन गरेर द्वितीय र व्रम्ह कुमारी इश्वरी विश्व विद्यालयले १२ किलो ६ सय ग्राम फोहोर संकलन गरेर तृतीय भएका थिए ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ हजार रुपैयाँ, प्रमाणपत्र र एउटा हरियो विरुवा, द्वितीय हुनेलाई नगद ३५ सय रुपैयाँ, प्रमाणपत्र र एउटा हरियो विरुवा र तृतीय हुनेलाई नगद २ हजार रुपैयाँ, प्रमाणपत्र र एउटा हरियो विरुवा प्रदान गरिएको छ।लमही नगरपालिका, वन डिभिजन कार्यालय दाङ ( देउखुरी ) को संयुक्त आयोजनामा भएको कार्यक्रममा निरासिज फाउन्डेसनले सहयोगीको भूमिका निभाएको छ भने कार्यक्रमको संचालन लमही नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले गरेकी थिइन्।