समय : १०:१८ pm | शुक्रबार , श्रावण २२ गते २०८३

नौबहिनीले गर्‍यो उत्कृष्ट कर्मचारी र बढी राजस्व संकलन गर्नेलाई सम्मान

स्वर्गद्वारी अपडेट | श्रावण २२ गते २०८३

प्युठान।नौबहिनी गाउँपालिकाले उत्कृष्ट कर्मचारी,बढी राजस्व संकलन गर्ने वडालाई सम्मान गरेको छ।आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका योजना तथा कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा बढी राजस्व संकलन गर्ने वडाका जनप्रतिनिधि र कर्मचारीलाई नगदसहित सम्मान गरिएको हो।

बिहिबार गाउँपालिकामा आयोजित कार्यक्रममा सबै शाखा तथा आठवटै वडाबाट आर्थिक वर्षभरि सम्पन्न भएका योजना, कार्यक्रम, सेवा प्रवाह तथा समग्र प्रगतिको प्रतिवेदन प्रस्तुत गरिएको थियो। शाखा प्रमुख तथा वडा सचिवहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको उपलब्धि र आगामी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेका थिए।

समीक्षाका आधारमा गाउँपालिकातर्फ उत्कृष्ट शाखा प्रमुखका रूपमा महिला, बालबालिका तथा सामाजिक समावेशीकरण शाखा प्रमुख राधा बस्नेत र वडातर्फ वडा नं. ६ का सचिव धर्म नेपाली नगदसहित सम्मानित भएका छन्।

त्यस्तै, गाउँपालिकाभित्र सबैभन्दा बढी राजस्व संकलन गर्ने वडा नं. ५ का अध्यक्ष दलराज पुन मगर र वडा सचिव ज्ञानबहादुर घर्ती मगर, साथै वडा नं. ८ का अध्यक्ष मानबहादुर के.सी. र वडा सचिव रमिना पुन मगरलाई पनि नगदसहित सम्मान गरिएको छ।

यसैबीच, आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्वीकृत नीति, बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले गाउँपालिकाले कार्यसम्पादन करार सम्झौता सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले प्रमुख प्रशासकीय अधिकृत खड्ग वि.क.लाई कार्यसम्पादन करार सम्झौतापत्र हस्तान्तरण गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले गाउँपालिकाले हासिल गरेका उपलब्धि कर्मचारीहरूको मेहनत, समन्वय र प्रतिबद्धताको परिणाम भएको बताउँदै आगामी वर्षमा पनि जनअपेक्षाअनुसार प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरेका थिए।

उपाध्यक्ष विष्णा थापाले विगतका कामको समीक्षा गर्दै आगामी योजना तथा कार्यक्रमलाई अझ प्रभावकारी, व्यवस्थित र जनमुखी ढंगले कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिइन।

गाउँपालिका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन योजना तथा प्रशासन शाखा प्रमुख अरविन्द्र ब्रह्माले गरेका थिए।

यो पनि पढ्नुहोस्