बाँके।नागरिकलाई यातायात सम्बन्धी सेवा प्रवाहमा सहजता ल्याउने उदेश्यले बाँकेको कोहलपुरमा यातायात कार्यालय विस्तार गरिएको छ। बुधबार देखि कोहलपुरबाट पनि यातायात सम्बन्धी सेवा प्रवाह सुरु भएको हो ।
लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार गर्ने निर्णय गरेको थियो । बुधबार उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले कोहलपुरमा यातायात सेवा कार्यालयको उद्घाटन गरे । कार्यालयको उद्घाटन गर्दै मन्त्री न्यौपानेले नागरिकलाई यातायात सम्बन्धी सेवा सहज रुपमा प्रदान गर्नका लागि यातायात सेवा कार्यालय विस्तार गरिएको बताए । साथै उनले आवश्यक्ताका आधारमा अन्य जिल्ला तथा स्थानहरुमा समेत यातायात कार्यालय विस्तारको योजना बनाईने समेत बताए ।
यसैगरि उनले यातायात सम्बन्धी सेवा नागरिक मैत्री हुनुपर्ने भन्दै नागरिकको सहजताका लागि मन्त्रालयले काम गरिरहेको समेत बताए । सेवाग्राहीहरुलाई कुनै पनि झन्झट नहोस् भन्नेमा मन्त्रालय गम्भिर रहेको भन्दै यातायात सम्बन्धी सेवालाई प्रविधिमैत्री बनाइने समेत बताए ।
कोहलपुरमा बुधबार देखि सञ्चालन भएको यातायात सेवा कार्यालयबाट तीन प्रकारका सेवा प्रवाह हुने छन । मन्त्रालयका अनुसार सवारी चालक अनुमती पत्र,सवारी दर्ता किताव नविकरण र पटके सेवा यो सेवा कार्यालयबाट प्रवाह गरिने छ । कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार भएपछि कोहलपुर तथा त्यस आसपासका क्षेत्रका सेवाग्राहीलाई यातायात सम्बन्धी सेवा लिन सहज भएको छ । यातायात सेवा कार्यालयमा सेवा दिन पुगेका सेवाग्राहीहरुले कोहलपुरमा यातायात सेवा कार्यालय सञ्चालनमा ल्याइदिएर प्रदेश सरकारले आफूहरुलाई धेरै सहजता प्रदान गरेको बताएका थिए ।