बर्दिया।बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिएको मानव बन्यजन्तु द्वन्द्वको समस्या समाधान र भावी योजना निर्माण बारे मुख्यमन्त्री चेतनारायण आचार्यले निकुञ्जका जिम्मेवार पदाधिकारी संग छलफल गरेका छन्। बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय क्षेत्रको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने नागरिकहरुले भोग्दै आएका समस्या समाधानको बारेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालले र बर्दिया राष्ट्रिय निकुञ्जका बरिष्ठ संरक्षण अधिकृत डा.अशोक कुमार राम लगायत सम्बद्ध पक्ष संग छलफल गर्नु भएको मुख्यमन्त्रीका स्वकीय सचिव कुशल भुसालले जानकारी दिए।
‘मानव बन्यजन्तुको द्वन्द्व कम गर्ने विकल्प र भावी योजनाको बारेमा छलफल भएको छ’स्वकीय सचिव भुसालले भने,‘मध्यवर्ती क्षेत्रमा बसोवास गर्दै आउनु भएका नागरिकको दैनिक कामकाज देखि उहाँहरुको जीविकोपार्जनको बारेमा समेत छलफल भएको छ । प्रदेश सरकारले सञ्चालन गर्दै आएको कार्यक्रमको बारेमा समेत जानकारी गराइएको छ ।’ लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्द्वका कारण गत आर्थिक बर्ष २०८०–८१ मा पाँच जनाको मृत्यु भएको र आठजना घाइते प्रदेश वन तथा वातावरण मन्त्रालयले उपब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
जस मध्य बर्दिया जिल्लामा मात्र चार महिला तथा एक बालक गरी पाँच जनाको मृत्य भएको थियो । एक वर्षमा भेडा–बाख्रा २१७, गाई–भैँसी ३१, बङ्गुर ४५, हाँस–कुखुरा १८१ वटाको मृत्यु भएको छ भने स्याल, चितुवा, वनबिरालो, नीलगाई, अजिङ्गर, बँदेल, बाँदर गरी ४१ वटा वन्यजन्तुको पनि मृत्यु भएको छ । १४ वटा चितुवा र मृगसमेत घाइते भएका छन् । लुम्बिनी प्रदेश सरकारले मानव–वन्यजन्तु द्वन्द्व घटाउन वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा प्रजातिको व्यवस्थापन, पानीको मुहान तथा सिमसार संरक्षण, वनभित्र संरक्षण पोखरी निर्माण लगायतका योजनाका काम गर्दै आएको छ ।