समय : ०८:१७ am | आइतबार , भाद्र २३ गते २०८१

बाग्लुङमा पहिरोले दुई वटा घर भत्किए, दर्जनभन्दा बढी जोखिममा

स्वर्गद्वारी अपडेट | भाद्र ९ गते २०८०

भदौ ९ बाग्लुङ - भारी वर्षापछि पहिराे जाँदा बाग्लुङमा दुई वटा घर भत्किएका छन् । एक दर्जनभन्दा बढी घर पहिराेकाे जाेखिममा परेका छन् । बाग्लुङ नगरपालिका–६ मैदानका १२ घर र सिमका उपल्लोबारीका करिब १२ घर पहिरोको जोखिममा परेका हुन् । वर्षाका कारण पहिरोले घर भत्किँदा मैदानका दुई परिवार पूर्णरुपमा विस्थापित भएका छन् । 

वर्षाले घर भत्किँदा स्थानीय जमुना आचार्य र नारायणप्रसाद सापकोटाको परिवार विस्थापित भएको बाग्लुङ नगरपालिका–६ का वडाध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । घर भत्किएपछि जमुना आचार्यको परिवार छिमेकी बालकृष्ण आचार्य र नारायण सापकोटाको परिवार छिमेकी मुक्ति आचार्यको घरमा आश्रय लिएर बसेका छन् । 

घर भत्किँदा नारायणको १० लाख रुपैयाँ बराबरको क्षति भएको छ भने जमुनाको छ लाख रुपैयाँ बराबरको क्षति भएको छ । नारायणको अन्यत्र घर बनाउने जग्गासमेत नभएकाले थप समस्यामा भएकाे वडाध्यक्ष केसीले बताउनुभयो । विस्थापित परिवारको बारेमा जिल्ला दैविक प्रकोप कार्यालयमा सिफारिस गरिएको उहाँले बताउनुभयो । 

'पहिरोले दुई परिवारले घर छोडेर आफन्तकोमा आश्रय लिएका छन्, अन्य घर पनि भत्किन थालेका छन्, उनीहरुलाई सुरक्षित ठाउँमा सार्नका लागि पहल गरेका छौँ', अध्यक्ष केसीले भन्नुभयो, 'बर्खा अझै बाँकी छ, वर्षा भइरहेको हुँदा व्यवस्थापनमा पनि समस्या भइरहेको छ, दुई दर्जनभन्दा बढी घर अहिले जोखिममा छन्, यसरी नै वर्षा भइ रह्यो भने अझै अरु घर पनि जोखिममा पर्ने सम्भावना बढेको छ ।'

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्