समय : ११:४४ am | आइतबार , चैत्र ३ गते २०८१

गौमुखीमा सुविधायुक्त होमस्टे सञ्चालन

राधिका भुषाल | माघ ३० गते २०८१

प्यूठान।प्रशिद्ध धार्मिक पर्यटकीय तिर्थस्थल गौमुखी दर्शन गर्न आउने पर्यटकको लागि सुविधायुक्त सामुदयीक होमस्टे सञ्चालनमा आएको छ। गौमुखी गाउँपालिका वडा नं. २ अर्खा, किनाममा गौमुखी सामुदायीक होमस्टे सञ्चालनमा आएको हो ।

गौमुखी तिर्थ गर्न आउने पर्यटकहरु बढ्दै गएकाले बसोवास र खानपानका लागि सहज होस् भन्ने उदेश्यले होमस्टे सञ्चालन गरिएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानाले बताए । ‘चालु आर्थिक वर्षभित्र सडक सञ्जालले जोड्दै छ ।’ उपाध्यक्ष रानाले भने–‘सडक पुगेपछि पर्यटकको संख्या झनै बढ्ने छ । पर्यटकलाई खाली हात नफर्काउन त्यस क्षेत्रलाई किवि पकेट क्षेत्रको रुपमा विकास गर्दैछौं ।’ पहिलेको तुलनामा पर्यटकहरु बढ्दोक्रममा रहेकोले स्थानिय उत्पादनलाई बजारीकरण गर्न होमस्टेले थप सहयोग पुग्ने उनले बताए । गौमुखी क्षेत्र, वाइसमुल झरना र झाक्रिढुंगा घुम्न आउने सबै पर्यटकहरुलाई किवि खुवाउनका चालु आर्थिक वर्षमा  १३ लाख बजेट विनियोजन किविको विरुवा लगाउने काम सुरु गरिएको उपाध्यक्ष रानाले बताए। 

गाउँपालिकाको नाममा जग्गा लिइ लुम्विनी प्रदेश सरकारको ६० लाख बजेटमा होमस्टेको संरचना निर्माण गरिएको रानाले जानकारी दिए । होमस्टे २ वटा शौचालय सहितको कोठा, एउटा हल कोठा र एउटा सादा कोठाको संरचना बनाइएको छ ।

होमस्टे सञ्चालनमा आएपछि अर्खा, ठुलाचौर र किनामवासी जनसमुदायले अत्यन्तै खुसी व्यक्ति गरेका छन् । गौमुखी क्षेत्रमा तारबार गर्नुपर्ने, पर्यटकको सरसामान सुरक्षाका लागि गेट बनाएर साँचो लगाउने व्यवस्था हुनुपर्ने र दैनिक छोटो समयमा लागि भएपनि पुजारी राख्नु पर्ने स्थानियवासी खड्ग घर्ती मगरले बताए । त्यस्तै सोही निवासी झुमाकुमारी बुढाले गौमुखी क्षेत्रको सरसरफाई गर्न र महिला पुरुषका लागि छुट्टाछुट्टै नुहाउने ठाउँ बनाउन गाउँपालिकालाई आग्रह गरेकी छिन् ।

होमस्टे संरचना निर्माणका लागि स्थानियवासी दुजमान घर्तीमगर, गणेश बहादुर पुन, इक बहादुर घर्ती, झुमा कुमारी बुढा र खड्ग घर्ती मगरले जग्गा दान गरेका थिए । बाटो पुग्नासाथ पार्किङका लागि जग्गा निशुल्क उपलब्ध गराउनका लागि स्थानियवासी तयार रहेको गणेश पुन मगरले बताए । बैदेशिक राजेगारी छोडेर गाउँमै काम गर्ने उदेश्यका साथ होमस्टेको सम्पूर्ण जिम्मा लिएको होमस्टे सञ्चालक जीवन घर्तीमगरले बताए ।    

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्